मोरक्कोमा आम निर्वाचनः ३९५ सदस्यीय प्रतिनिधि सभाका लागि मतदान शुरु

मोरक्कोको संसदको तल्लो सदन अर्थात प्रतिनिधि सभाको ३९५ सिटका लागि देशभर मतदान शुरु भएको छ । आगामी कार्यकालका लागि जनप्रतिनिधि छनोट गर्न करिव १५.८ मिलियन मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगेका छन् । गृह मन्त्रालयकाअनुसार यस निर्वाचनमा देशभरबाट २८ राजनीतिक दलका ७,२८८ उम्मेदवारहरू चुनावी मैदानमा छन् । कुल ३९५ सिटमध्ये ३०५ सिट स्थानीय निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी ९० सिट महिलाहरूका लागि आरक्षित क्षेत्रीय सूचीमार्फत पूर्ति गरिनेछ ।

यस निर्वाचनमा महिला सहभागिता उल्लेख्य देखिएको छ । दर्ता भएका कुल उम्मेदवारमध्ये २,६५८ जना महिला छन्, जुन कुल संख्याको ३६.४७ प्रतिशत हुन आउँछ । मोरक्कोको द्विसदनात्मक संसद्मध्ये प्रतिनिधि सभाको यो निर्वाचन निकै अर्थपूर्ण मानिएको छ । आगामी दिनमा बन्ने नयाँ सरकारको दिशा यसै निर्वाचनको नतिजाले तय गर्नेछ ।

सत्ताधारी गठबन्धनमा रहेका नेसनल ¥याली अफ इन्डिपेन्डेन्ट्स, अथेन्टिसिटी एन्ड मोडर्निटी पार्टी र इस्तिकलाल पार्टीले पुनः बहुमत ल्याउने दाबी गरिरहेका छन् । उता, सन् २०११ र २०१६ को निर्वाचनपछि सरकारको नेतृत्व गरेको जस्टिस एन्ड डेभलपमेन्ट पार्टीसहित सोसलिस्ट युनियन अफ पपुलर फोर्सेस, पपुलर मुभमेन्ट र पार्टी अफ प्रोग्रेस एन्ड सोसलिज्मले कडा चुनौती दिइरहेका छन् ।

मोरक्कोको संवैधानिक व्यवस्थाअनुसार, चुनावमा सबैभन्दा बढी सिट जित्ने दलका नेतालाई राजाले प्रधानमन्त्री नियुक्त गर्नेछन् । प्रधानमन्त्रीले नै नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने संवैधानिक प्रावधान छ । यसपटकको निर्वाचनले देशको राजनीतिक स्थायित्व र भावी नीतिमा कस्तो प्रभाव पार्छ, त्यो मतगणना सकिएपछि नै प्रष्ट हुनेछ ।