
काभ्रेपलाञ्चोक । लगातारको वर्षाका कारण विपी राजमार्गअन्तर्गत विभिन्न स्थानमा लेदो, पहिरो तथा ढुंगा खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बिपी राजमार्गअन्तर्गत चौकीडाँडामा आज बिहान ८ बजे रोशी खोलाले डाइभर्सन बगाएको छ । डाइभर्सन बगेपछि आज बिपी राजमार्ग खुल्ने सम्भावना नरहेको जनाइएको छ ।


काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चार सयबेँसी र वडा नम्बर ८ गिम्दीबेँसीमा समेत अविरल वर्षाका कारण लेदो, पहिरो तथा ढुंगा खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

रातभर परेको वर्षाका कारण सडकमा लेदो तथा पहिरो आएपछि राजमार्ग बन्द भएको हो ।
यसैबीच, रोशी खोला पनौती जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान हुने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।





