
टर्कीको दक्षिणपूर्वी प्रान्त सानलिउर्फालाई केन्द्रबिन्दु बनाएर बिहीवार ५.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति नभएको टर्कीको विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार भूकम्पको केन्द्रबिन्दु सानलिउर्फाको काराकोप्रु जिल्ला रहेको छ भने यो जमिनको ७.३ किलोमिटर गहिराइमा मापन गरिएको छ ।
भूकम्पको धक्का सानलिउर्फाका अतिरिक्त छिमेकी प्रान्तहरू आदियामान र गाजियन्टेपमा समेत महशुस गरिएको थियो ।


भूकम्पको झड्कासँगै स्थानीय बासिन्दाहरू त्रासित बनेका थिए । निजी प्रसारक एनटिभीका अनुसार भूकम्पपछि मानिसहरू घरबाहिर सडकमा निस्किएका थिए । स्थानीय प्रशासनले नागरिकहरूलाई संयमित रहन आग्रह गरेको छ । सानलिउर्फाका गभर्नर हसन सिल्दाकले टेलिभिजनमार्फत बोल्दै हाल घटनास्थलमा क्षतिसम्बन्धी मूल्यांकन भइरहेको बताएका छन् ।

हालसम्म कुनैपनि गम्भीर भौतिक क्षति वा हताहतीको खबर नआएको भए तापनि विपद् व्यवस्थापन टोलीले प्रभावित क्षेत्रमा खोजी र निगरानी जारी राखेको छ । टर्की भौगोलिक रूपमा सक्रिय भूगर्भीय फल्ट लाइनमा अवस्थित रहेकाले यहाँ पटक–पटक भूकम्पको जोखिम रहँदै आएको छ ।




