
वेस्ट बैंकको रुट ४४३ मा एक सवारी साधनले ठक्कर दिँदा इजरायलका लागि अमेरिकी राजदुत यिचिएल लेइटरका छोरा नेरिया लेइटर गम्भीर घाइते भएका छन् । सैन्य रिजर्भिस्टका रूपमा कार्यरत लेइटर ड्युटीमा खटिएका बेला उक्त घटना भएको हो । इजरायली सुरक्षा अधिकारीहरूले यसलाई ‘कार–रमिङ’ आक्रमणका रूपमा व्याख्या गरेका छन् ।
प्रहरीकाअनुसार एक प्यालेस्टिनी चालकले चेकपोष्ट नजिकै खटिएका सुरक्षाकर्मीलाई लक्षित गर्दै गाडी हुत्याएपछि सो घटना भएको थियो ।

लगत्तै जवाफी कारबाहीमा सुरक्षाकर्मीले ती चालकलाई गोली हानी मारेका छन्।्ल्लगम्भीर घाइते अवस्थामा रहेका नेरिया लेइटरलाई जेरुसेलमको सारि जेदेक अस्पतालमा भर्ना गरिएको छ । राजदुत यिचिएल लेइटरले सामाजिक सञ्जाल एक्समार्फत आफ्ना छोराको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै ‘चमत्कारको आवश्यकता’ रहेको बताएका छन् ।


नेरियाका दाजु मोसे यदिद्या लेइटरको सन् २०२३ नोभेम्बरमा गाजामा सैन्य सेवाकै क्रममा मृत्यु भएको थियो ।
घटनापछि इजरायली सेनाले वेस्ट बैंकमा थप सुरक्षा सक्रियता बढाएको छ । इजरायली सैन्य प्रमुख इयाल जमिरले स्थितिको मूल्यांकन गर्दै ९८ औं डिभिजनलाई वेस्ट बैंकमा परिचालन गर्ने आदेश दिएका छन् । सेनाले यस कदमलाई कमाण्ड र नियन्त्रणलाई मजबुत बनाउने र रक्षात्मक तथा आक्रामक क्षमता अभिवृद्धि गर्ने रणनीतिक निर्णय भनेको छ । अक्टोबर २०२३ मा गाजामा युद्ध शुरु भएयता वेस्ट बैंकमा हिंसाका घटनाहरू निकै बढेका छन् । इजरायली सेनाको छापा, प्यालेस्टिनी पक्षबाट हुने आक्रमण र बसोबासीहरूको हिंसात्मक गतिविधिले यस क्षेत्रको सुरक्षा अवस्थालाई निकै चुनौतीपूर्ण बनाएको छ ।





