युनाइटेड अरब इमिरेटस् (यूएई) मा हत्या गरिएका गणेशबहादुर बस्नेतका आफन्त भेटिएका छन्। सिन्धुली स्थायी घर भए पनि सुनसरी हाँसपोसाबाट नागरिकता बनाएकाले गर्दा गणेशका आफन्त सात महिनापछि भेटिएका हुन्।
बस्नेतका आफन्त पत्ता लगाउन हाँसपोसा गाविसले शनिबार बिहानदेखि नै माइकिङ गरेको थियो। हाँसपोसा गाविस कार्यालयले सात महिनादेखि खोजी जारी राखेको थियो। बस्नेत हत्या आरोपमा पर्वत चित्रे-५ का ३० वर्षे दुर्गाबहादुर सुनारलाई मृत्युदण्ड सजाय कार्यान्वयन हुन तीन महिनामात्र बाँकी रहेका बेला बस्नेतका आफन्त कोही पत्ता नलागेपछि खोजी गर्न माइकिङ् गरिएको हो ।
माइकिङ गरेपछि मोरङ, उर्लाबारी घर भएका गणेशका मामा महेन्द्र बिष्ट र आफन्त दाजु शान्तबहादुर रायले आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत पराराष्ट्र मन्त्रालयमा सम्पर्क गरे। आफन्तले सम्पर्क गरेलगतै मृतक गणेशका बाबुआमा पनि परराष्ट्र मन्त्रालय पुगेर छोराको बारेमा जानकारी लिए।
परराष्ट्र मन्त्रालयका उपसचिव दिलीपकुमार पौडेलका अनुसार गणेशका बाबुआमाले छोरा मारिएको अहिलेसम्म पनि जानकारी पाएका थिएनन्। दुईतीन दिन भित्रमा सम्हालिएपछि पुनः डाकिएको उनले जानकारी दिए।



