चीनको यिबिनमा भूकम्पः ४.५ म्याग्निच्युडको धक्का महशुस

चीनको सिचुआन प्रान्तस्थित यिबिन सहरको गाओसियन काउन्टी क्षेत्रमा शनिवार भूकम्पको धक्का महशुस गरिएको छ । स्थानीय समयअनुसार दिनभरि गएका भूकम्पका श्रृङ्खलामध्ये सबैभन्दा ठूलो ४.५ म्याग्निच्युडको रेकर्ड गरिएको छ । चीनको भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार शनिवार गाओसियन काउन्टीलाई केन्द्रबिन्दु बनाएर तीनवटा भूकम्पका धक्काहरू गएका थिए।

४.५ म्याग्निच्युडको भूकम्पले स्थानीय बासिन्दाहरूमा त्रास फैलाए पनि अहिलेसम्म कुनै मानवीय क्षति वा गम्भीर संरचनात्मक नोक्शानीको खबर प्राप्त भएको छैन ।

भूकम्प गएलगत्तै स्थानीय प्रशासनले उद्धार र क्षतिको आँकलनका लागि विशेष टोली परिचालन गरेको थियो । हालसम्म प्राप्त प्रारम्भिक विवरणहरूका आधारमा उक्त क्षेत्रका आवासीय भवन वा सार्वजनिक संरचनामा कुनै क्षति नपुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यिबिन क्षेत्र भूगर्भीय रूपमा सक्रिय मानिन्छ । यसअघि पनि यस क्षेत्रमा साना तथा ठूला भूकम्पहरू जाने गरेका छन् । स्थानीय अधिकारीहरूले पछिल्लो पटक गएको भूकम्पपछिको स्थिति सामान्य रहेको र नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छन् । विपद् व्यवस्थापन विभागले थप परकम्पहरू जान सक्ने भन्दै शतर्कता अपनाउन स्थानीय बासिन्दालाई आह्वान गरेको छ ।