पाकिस्तान–अफगानिस्तान सीमामा भिडन्तः घुसपैठको प्रयास विफल, केही तालिबान लडाकु मारिएको दाबी

पाकिस्तान र अफगानिस्तानबीचको सीमावर्ती क्षेत्रमा दुई पक्षबीच भएको भिडन्तमा केही अफगान तालिबान सदस्यहरू मारिएको पाकिस्तानी सुरक्षा स्रोतले जनाएको छ । बलुचिस्तानको गुलिस्तान सेक्टर नजिकै अफगान पक्षबाट गैरकानुनी रूपमा सीमा पार गर्ने प्रयासलाई सुरक्षा फौजले जवाफी कारबाहीमार्फत विफल तुल्याएको दाबी पाकिस्तानले गरेको छ ।

पाकिस्तानी सुरक्षा स्रोतहरूकाअनुसार शुक्रवार बिहान सबेरै गुलिस्तान सेक्टरस्थित सीमा रेखाबाट केही अफगान तालिबान सदस्यहरू पाकिस्तानी भूभागमा प्रवेश गर्ने प्रयास गरिरहेका थिए ।

उक्त गतिविधि देखिनासाथ सीमामा तैनाथ पाकिस्तानी सुरक्षाकर्मीले तत्काल कारबाही अघि बढाएका थिए । त्यसक्रममा भएको दोहोरो गोलीबारीमा परी सीमा पार गर्न खोज्ने तालिबान समूहका केही सदस्य हताहत भएको बताइएको छ । घटनापछि उक्त क्षेत्रमा केही समयसम्म दुवैतर्फबाट छिटपुट गोली हानाहान जारी रहेको थियो ।

 

सम्भावित थप घुसपैठ वा जोखिमलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रमा पाकिस्तानी सुरक्षा फौजलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखिएको सुरक्षा अधिकारीहरूले स्पष्ट पारेका छन् । आफ्नो सार्वभौमसत्ता र सीमा रक्षाका लागि सुरक्षा दस्ता पूर्ण रूपमा तयार रहेको सन्देश पाकिस्तानी पक्षले दिएको छ । हालसम्म यस घटनाबारे काबुलस्थित अफगान तालिबान प्रशासनको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया वा स्वतन्त्र पुष्टि सार्वजनिक भइसकेको छैन । लामो समयदेखि ड्युरन्ड लाइन सीमा क्षेत्रमा सुरक्षा व्यवस्था, आवतजावत तथा लडाकुहरूको गतिविधिलाई लिएर दुवै छिमेकी मुलुकबीच पटक–पटक कुटनीतिक तथा सैन्य तनाव उत्पन्न हुँदै आएको छ । सीमा क्षेत्रको वस्तुस्थितिलाई अन्तर्राष्ट्रिय निकायहरूले पनि नजिकबाट नियालिरहेका छन् ।