
पाकिस्तानको उत्तर–पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक प्रहरी जाँच चौकीलाई लक्षित गरी गराइएको भीषण बम विष्फोटमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार शनिवार दिउँसो २ः२० बजे डेरा इस्माइल खान जिल्लामा उक्त घटना भएको हो ।
प्रहरी र उद्धारकर्ताहरूले दिएको जानकारीअनुसार विष्फोटको समयमा नजिकै एक शान्ति भेला भइरहेको थियो, जसमा ठूलो संख्यामा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो। उक्त हमलाले मुख्य रूपमा प्रहरी जाँच चौकीलाई निशाना बनाएको थियो, जसका कारण सुरक्षाकर्मी र सर्वसाधारण दुवै हताहत भएका छन् ।


सरकारी उद्धार सेवा ‘रेस्क्यू ११२२’ का प्रवक्ता बिलाल फैजीकाअनुसार घटनास्थलबाट ११ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । अस्पताल स्रोतले केही घाइतेहरूको अवस्था अत्यन्त गम्भीर रहेको जनाएको छ । घटनास्थलमा ६ वटा एम्बुलेन्स, एक दमकल र २५ भन्दा बढी उद्धारकर्मी परिचालन गरी तत्काल राहत तथा उद्धार कार्य शुरु गरिएको थियो । प्रहरीले उक्त विष्फोटको प्रकृति र कारणबारे अनुसन्धान सुरु गरिसकेको छ । घटनाको जिम्मेवारी कसैले नलिए पनि पछिल्लो समय सो क्षेत्रमा सुरक्षा चुनौतीहरू बढ्दै गएका छन् ।





