
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका पुनः सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ ।
भेटमा अध्यक्ष श्रेष्ठले आपूर्ति शृंखलामा देखिएको अवरोध कम गर्न तथा व्यापारी र उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल सञ्चालनका लागि चिनियाँ पक्षबाट आवश्यक पहल गर्न आग्रह गरेका थिए । उनले कठिन परिस्थितिमा व्यापारिक आवागमन सहज बनाउन र निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास कायम राख्न नेपाल–चीनबीच निरन्तर समन्वय आवश्यक रहेको बताए ।


उनले रसुवागढी र कोरला नाकामा समेत अवरोध आएपछि चाडपर्वको प्रमुख व्यापारिक मौसमअघि नेपाल–चीन व्यापार तथा आपूर्ति शृंखलामा थप दबाब परेको जानकारी गराए । रसुवागढी–केरुङ नाकामा बाढीबाट क्षति भएपछि बढेको व्यापारिक चाप कम गर्न तातोपानी नाका यथाशीघ्र सञ्चालन गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।

जवाफमा राजदूत झाङले बाढीबाट नेपाल र चीन दुवैतर्फ भएको मानवीय तथा आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै व्यापारिक मार्ग छिटो सञ्चालन गर्न दुवै देशका अधिकारीबीच संयुक्त रूपमा स्थलगत निरीक्षण भइरहेको जानकारी दिए । सडक तथा अन्य पूर्वाधारको मर्मत र पुनर्स्थापनाका लागि चिनियाँ पक्षले द्रुत कार्य टोली परिचालन गरेको पनि उनले बताए ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी–केरुङ नाकातर्फको पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाह तथा काठमाडौंलाई चीनको सीमासँग जोड्ने करिब १४५ किलोमिटर सडकखण्डमध्ये ४५ किलोमिटर क्षेत्रमा क्षति पुर्याएको छ । भेटमा महासंघका अध्यक्ष श्रेष्ठले चीनले कठिन समयमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै व्यापार तथा लगानीका चुनौती समाधानका लागि सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

छलफलमा नेपाल र चीनका निजी क्षेत्रबीच व्यापार तथा लगानीका चुनौती, सम्भावना र आर्थिक पुनरुत्थानका दीर्घकालीन समाधान पहिचान गर्न संयुक्त व्यापार मञ्च आयोजना गर्ने विषयमा पनि छलफल भएको थियो। महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र महानिर्देशक डा. गोपालप्रसाद तिवारीले नेपाल–चीनबीच द्विपक्षीय व्यापार, लगानी तथा दीर्घकालीन आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।





