नवलपरासी पूर्वमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

नवलपरासी पूर्व । विनयी त्रिवेणी गाउँपालिका–४ पिधरीस्थित होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगरले चलाएका थिए। ट्याक्टर अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको माटोको ढिस्कोमा ठोक्किएर सडकबाट खसेको थियो ।

दुर्घटनामा घाइते मगरलाई उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएको थियो । अस्पतालमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।