स्लोभाकियामा डान्युब नदीको बहाव १ सय १५ वर्षयताकै न्युन

युरोपको प्रमुख जीवनरेखा मानिने डेन्युब नदीले आफ्नो बहावको ऐतिहासिक न्युन बिन्दु छोएको छ । स्लोभाकियाको राजधानी ब्राटिस्लाभस्थित डेभिन क्षेत्रमा नदीको दैनिक औसत बहाव ५७५.९ घनमिटर प्रतिसेकेण्डमा झरेको स्लोभाक हाइड्रोमेटियोरोलोजिकल इन्स्टिच्युटले पुष्टि गरेको छ । प्रवक्ता इभान गारकारकाअनुसार यो तथ्यांक सन् १९०० मा मापन शुरु भएयताकै सबैभन्दा कम हो । यसअघि सन् १९०९ को जनवरीमा नदीको बहाव ५८० घनमिटर प्रतिसेकेण्ड मापन गरिएको थियो । पछिल्लो मापनले विगतका सबै रेकर्ड तोड्दै नयाँ चिन्ताजनक अवस्था सिर्जना गरेको छ ।

नदीको यो असामान्य अवस्थाका पछाडि लामो समयदेखिको विषम मौसमी अवस्था मुख्य कारण मानिएको छ । करिव तीन साताअघि मात्रै सार्वजनिक गरिएको प्रतिवेदनमा स्लोभाकियाले सन् १९३१ यताकै तेस्रो तातो गर्मी महिनाको सामना गरेको उल्लेख थियो । त्यसबेला देशको करिव ९० प्रतिशत भू–भागमा गम्भीरदेखि चरम खडेरीको प्रभाव देखिएको थियो ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण युरोपका प्रमुख जलस्रोतहरूमा परेको प्रभावलाई यसले पुनः उजागर गरेको बताएका छन् । पानीको बहावमा आएको यो ऐतिहासिक गिरावटले जल यातायात, कृषि र पारिस्थितिक प्रणालीमा पार्न सक्ने असरबारे सरोकारवाला निकायहरू शतर्क भएका छन् । हाल नदीको बहावमा आएको कमीले स्थानीय तटीय क्षेत्रको जनजीवन र वातावरणीय सन्तुलनमा गम्भीर चुनौती थपेको छ ।