चितवन – चितवनको भरतपुरमा रहेको नेपाल पोलिटेक्निक इन्ष्टिच्युटमा मंगलवार बिहान नचिनेका मानिसहरुको समुहले तोडफोड तथा आगजनीको प्रयास गरेको छ ।
तीन वटा मोटरसाईकलमा आएका ६ जनाले पेट्रोल छर्कर संस्थाको गाडीमा आगजनी र झयालमा तोडफोड गर्न थालेपछि बिद्यार्थीले उनीहरुलाई लखेटेका थिए । कलेजमा तोडफोड गर्न आएका युवाहरुले चढेको ना २० प १८०५ नम्बरको पल्सर मोटरसाइलमा बिद्यार्थीहरुले आगजनी गरेको इन्ष्टिच्युटका प्रशासकीय अधिकृत शिब सुबेदीले जानकारी दिए ।
आगजनी गर्न आउने युवाहरु मोटरसाईकल र एउटा डायरी छोडेर भागेका थिए । डायरीमा अनेरास्वियु क्रान्तिकारीको बिभिन्न समयमा गरिएका बैठकका निर्णयहरु रहेको प्रशासकीय अधिकृत सुबेदीले बताए ।
इन्ष्टिच्युटको ना १ क २६१६ नम्बरको गाडीमा लागेको आगो बिद्यार्थीहरुले निभाएको प्रहरीले जनाएको छ । इन्ष्टिच्युटमा एचए, ल्याब टेक्निसियन, सिएमए, अनमी, लगायतका प्राबिधिक शिक्षाको पढाई हुदै आएको छ ।
केहि हप्ता अगाडि इन्ष्टिच्युटकै भरतपुरको भोजाडमा रहेको मूख्य ब्लकमा अनेरास्वियु क्रान्तिकारीका बिद्यार्थीहरुले तोडफोड गर्दा १० लाख रुपैयाँ भन्दा बढिको क्षति भएको थियो ।
इन्ष्टिच्युटको अनेरास्वियु क्रान्तिकारी मुल इकाई कमिटिले बिभिन्न माग राखेर पटकपटक वार्ताको लागि पहल गरेपनि आफना मागप्रति प्रशासनले बेवास्ता गरेको भन्दै सोमबार पत्रकार सम्मेलन गरी पहिलो चरणका चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरेको थियो ।
– RSS