खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको अनुशासन आयोगलाई निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका आरोपबारे छानबिन गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ ।

महामन्त्री विपिन कुमार आचार्यका अनुसार रास्वपाले सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा सुनारसँग सम्बन्धित गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महिलाको मर्यादामा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोप गम्भीर र संवेदनशील रहेको रास्वपाले जनाएको छ। यी विषयमा पार्टीले शून्य सहनशीलताको नीति अपनाउने पनि स्पष्ट पारेको छ ।

सुनारले एक महिलालाई धम्की दिएको अडियो सार्बजनिक भएपछि उनी विवादमा परेका थिए ।

छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ । रास्वपाले सम्बन्धित सरकारी निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने जनाएको छ ।

पार्टीले कानुनभन्दा माथि कोही पनि नहुने उल्लेख गर्दै राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चाल्ने जनाएको छ ।

साथै, कानुन उल्लङ्घन वा पदीय आचरणविपरीतका कार्यमा संलग्न जोकोहीलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धता पनि रास्वपाले व्यक्त गरेको छ ।