काठमाडौं महानगरपालिकाले सय वर्ष पुगेकाहरूलाई १० हजार रुपैयाँ दिने

ज्ञान न्यौपाने, नागरिक

 

काठमाडौं – तपाईंको टोल वा छिमेकमा सय वर्ष पुगेका कोही हुनुहुन्छ? हुनुहुन्छ भने खुसीको खबर। काठमाडौं महानगरपालिकाले उनीहरूलाई यही साउनभित्र १० हजार रुपैयाँ दिने भएको छ।

 

हालसम्म महानगरपालिकाभित्र करिब १० देखि १२ जनासम्म सय नाघेका नागरिक रहेको अनुमान छ। महानगरपालिकाको २० औं नगरपरिषदले २०६९/७० आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम अन्तर्गत यो कार्यक्रम राखेको जनाइएको छ। यसबाट वार्षिक भत्ता मात्र खाएर बसिरहेका वृद्धले थप रकम पाउन लागेका हुन्।


यसका लागि वृद्धवृद्धा सय वर्षमाथिको हुनुपर्छ भने उनीहरू महानगरपालिकाभित्रै बसेबास गरिरहेको वा त्यहाँको नागरिक हुनुपर्नेछ। पत्रकार सम्मेलनमा आफ्नै बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्न लागिएको महानगरपालिका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताए। उनले भने, ‘यो उमेर जीवनको कीर्तिमानी समय हो, राज्यले कुनै सम्मान दिन नसकेका कारण महानगरपालिकाले आफ्नै आयस्रोतबाट सम्मान गर्नेछ।’


महानगरपालिकाले यसलाई ज्येष्ठ नागरिकका लागि विविध कार्यक्रम अन्तर्गत राखेको छ। काठमाडौं महानगरपालिकाबाटै वृद्धभत्ता पाएका, यहाँकै नागरिकता पाएका र यी दुवै नभई वर्षौंदेखि यहीँ बस्दै आएकालाई सम्मान गरिने अधिकारीले बताए।


यो कार्यक्रमलाई महानगरपालिकाले आउँदा आर्थिक वर्षमा पनि निरन्तरता दिने बताएको छ। यसका साथै महानगरपालिका नगरपरिषदले आर्थिक वर्ष २०६९/७० का लािग १ अर्ब ८९ करोड ६० लाख बजेट पारित गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा चालिस लाख कम हो। अहिले १ अर्ब २० करोड आन्तरिक स्रोत र ५३ करोड सरकार र बाँकी अन्य स्रोतबाट उठाउने महानगरको योजना छ।


अधिकारीका अनुसार सरकारले विस्तारिक सडक मर्मतका लागि २५ करोड, एकल महिला भत्ताका लागि २ करोड २७ लाख, दुई दमकल कार्यालय स्थापनाका लागि ३ करोड, स्वयंसेवक परिचालनका लागि ५० लाख र ल्यान्डफिल साइट व्यवस्थापनका लागि १ करोड थप रकम उपलब्ध गराउनेछ ।


महानगरपालिकाले यसै वर्षदेखि प्रत्येक वडालाई १५ देखि ३० लाख बजेट उपलब्ध गराउने, मोटरसाइकल सवारी कर दोब्बर पार्ने, दैवीप्रकोप उद्धार कोष स्थापना, सम्पदा संरक्षण कोष स्थापना र काठमाडौंमा भदौ १ देखि रात्रिबस चलाउने कार्यक्रम प्रथामिकतामा राखेको छ।

अन्य समाचारहरु