टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँ । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा कार प्रदर्शन गर्दै सन् २०२८ देखि उत्पादन सुरु गर्ने घोषणा गरेका हुन् ।

मस्कका अनुसार दुई जना बस्न मिल्ने उक्त स्पोर्ट्स कारले जमिनमा तीव्र गति लिनुका साथै हावामा उफ्रिन र केही समय उड्न सक्ने प्रविधि प्रयोग गरेको छ । प्रदर्शनका क्रममा कारले विशेष हावाको दबाब प्रयोग गरेर उकालो र्‍याम्पमा चढ्ने, उल्टो झुन्डिने, हावामा पल्टिने र पुनः जमिनमा अवतरण गर्ने दृश्य देखाइएको थियो ।

कारमा चालक नराखी प्रदर्शन गरिएको थियो । सम्भावित दुर्घटनाबाट बच्न चालकविना परीक्षण गरिएको मस्कले बताएका थिए । उनले प्रविधि सफल हुने निश्चित नभएको स्वीकार्दै परीक्षण सुरक्षित दूरीबाट गरिएको बताएका थिए । प्रदर्शनका क्रममा कारले टेस्लाका अन्य गाडीको लहरमाथिबाट उफ्रिँदै पार गरेको र पछाडिबाट तीव्र गतिमा हावा निष्कासन गर्ने प्रणालीको सहायताले गति बढाएको देखाइएको थियो । मस्कले कार शून्यदेखि प्रतिघण्टा ६० माइल अर्थात् करिब ९७ किलोमिटरको गति एक सेकेन्डभन्दा कम समयमा हासिल गर्न सक्ने दाबी गरेका छन् ।

टेस्लाका अनुसार कारमा १० वटा हावा निष्कासन गर्ने नोजल र अत्यधिक उच्च दबाबमा हावा भण्डारण गर्ने ट्याङ्की प्रयोग गरिएको छ । उक्त प्रविधिले जमिनमा गति बढाउन र हावामा उफ्रिन सहयोग गर्ने बताइएको छ । यद्यपि, सार्वजनिक प्रदर्शनले कार लामो दूरीसम्म उड्न सक्छ भन्ने प्रमाणित नगरेको समाचारमा उल्लेख छ । कारले सडकमा चल्ने सवारीसाधनका रूपमा काम गर्दै विमानजस्तै उडान भर्न सक्ने क्षमताबारे थप परीक्षण आवश्यक रहेको छ ।

विमान र सडकमा चल्ने गाडीको प्रविधि एउटै सवारीमा समेट्नु चुनौतीपूर्ण रहेको विज्ञहरूले बताएका छन् । अमेरिकाको स्मिथसोनियन राष्ट्रिय वायु तथा अन्तरिक्ष सङ्ग्रहालयका ठाडो उडानसम्बन्धी विज्ञ रोजर कोनरका अनुसार विमानमा तौल निकै संवेदनशील विषय हुन्छ भने सडकमा चल्ने गाडीमा सुरक्षा संरचना र ठक्करबाट जोगाउने उपकरण आवश्यक पर्छन् । यी दुवै विशेषता एउटै सवारीमा समेट्दा उडान र सडकमा सञ्चालन दुवै प्रभावकारी नहुन सक्ने तथा लागत महँगो पर्ने उनको भनाइ छ ।

यसअघि क्यालिफोर्नियाको नयाँ कम्पनी अलेफले पनि उड्न सक्ने कार विकास गरिरहेको छ । उक्त कारमा अगाडि र पछाडि गरी आठवटा पङ्खा प्रयोग गरिएको छ । तर यसको तौल करिब २५४ पाउन्ड रहेको र एक जना मात्रै यात्रु बोक्न सक्ने बताइएको छ ।

अलेफका प्रमुख कार्यकारी अधिकृत जिम दुखोभ्नीले कारलाई जमिनबाट उडाउन सम्भव भए पनि वास्तविक उडानका लागि ठाडो रूपमा माथि उठ्ने अवस्थाबाट अगाडि बढ्ने अवस्थामा सुरक्षित रूपान्तरण गर्नु सबैभन्दा कठिन चुनौती भएको बताएका छन् ।

विज्ञ कोनरले पनि टेस्लाको रोडस्टरले लामो दूरीसम्म उडान भर्न सक्नेमा शङ्का व्यक्त गरेका छन् । उनका अनुसार अहिलेको प्रदर्शनलाई निरन्तर उडानभन्दा पनि छोटो दूरीसम्म हावामा उफ्रिने गतिविधिका रूपमा बुझ्नुपर्ने हुन्छ ।

images

टेस्लाले सन् २०२८ मा उत्पादन सुरु गर्ने घोषणा गरे पनि कम्पनीका प्रमुख मस्कले विगतमा गरेका केही घोषणाको समयसीमा पूरा हुन वर्षौं लागेको उदाहरण रहेकाले नयाँ कारको उत्पादन र वास्तविक उडान क्षमताबारे थप प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।