
सञ्जय मिश्रा
रौतहट १५ कार्तिक। भारतको ओडिशा राज्यस्थित पुरीमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिर धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राचीन परम्पराका कारण विश्वभर चर्चित छ। भगवान जगन्नाथ, बलभद्र र देवी सुभद्राको दर्शन गर्न यहाँ दैनिक हजारौँ श्रद्धालु पुग्ने गर्छन्।
यस मन्दिरमा सदियौँदेखि चल्दै आएका अनेकौँ परम्परामध्ये शिखरमा हरेक दिन ध्वजा फहराउने परम्परा विशेष मानिन्छ।


जगन्नाथ मन्दिरको शिखरमा फहराइने ध्वजा सामान्य झण्डा मात्र होइन, यो हिन्दू आस्था, पवित्रता, धार्मिक पहिचान र भगवानप्रतिको समर्पणको प्रतीक हो। झ रोचक कुरा के छ भने, मन्दिरको शिखरमा दैनिक ध्वजा परिवर्तन गर्ने जिम्मेवारी आज पनि पुस्तौँदेखि एउटै विशेष सेवक परिवारले निर्वाह गर्दै आएको छ।

यस परम्पराको महत्व, ध्वजा फहराउने विधि र यससँग जोडिएका धार्मिक मान्यताबारे जगन्नाथ मन्दिरका पूर्व मन्दिर व्यवस्थापन समिति सदस्य तथा पण्डित माधव चन्द्र महापात्रासँग गरिएको कुराकानीमा रोचक तथ्यहरू सार्वजनिक भएका छन्।
मन्दिरको शिखरमा ध्वजा किन आवश्यक ?

हिन्दू धर्ममा मन्दिरको शिखरमा ध्वजा राख्ने परम्परालाई विशेष धार्मिक महत्वका साथ हेरिन्छ। ध्वजाले मन्दिरको पवित्रता, धार्मिक पहिचान र भगवानप्रतिको अटुट आस्थालाई प्रतिनिधित्व गर्छ। पण्डित माधव चन्द्र महापात्राका अनुसार मन्दिरको शिखरमा ध्वजा हुनु अनिवार्य धार्मिक परम्पराका रूपमा मानिन्छ।
उनी भन्छन्, “जसरी ब्राह्मणका लागि शिखाको धार्मिक महत्व हुन्छ, त्यसैगरी मन्दिरको शिखरमा ध्वजा हुनु पनि महत्वपूर्ण मानिन्छ। ध्वजाले मन्दिरलाई पूर्णता प्रदान गर्छ।”

प्राचीन समयमा मन्दिरको शिखरमा फहराइने ध्वजाको दिशा र त्यसको लहराइलाई समेत विभिन्न धार्मिक तथा सांस्कृतिक संकेतका रूपमा व्याख्या गर्ने चलन थियो। यद्यपि पुरीको जगन्नाथ मन्दिरमा यसको मुख्य महत्व आस्था र परम्परासँग जोडिएको छ।
पुस्तौँदेखि एउटै परिवारले गर्दै आएको छ ध्वजा फहराउने काम
जगन्नाथ मन्दिरमा ध्वजा फहराउने जिम्मेवारी विशेष सेवक परिवारलाई दिइएको छ। यस सेवालाई ‘चुनरा सेवा’ भनिन्छ भने यो जिम्मेवारी चोला परिवारका सदस्यहरूले निर्वाह गर्दै आएका छन्। उनीहरूलाई ‘चुनरा सेवक’ भनेर चिनिन्छ।
यस परिवारका सदस्यहरूले पुस्तौँदेखि भगवान जगन्नाथको सेवाका रूपमा यो परम्परा निरन्तरता दिँदै आएका छन्। उनीहरूको जिम्मेवारी मन्दिरको शिखरमा ध्वजा फहराउनुमा मात्र सीमित छैन। श्रद्धालुहरूले चढाएका ध्वजाहरूलाई समेत मन्दिरको अग्लो शिखरसम्म पुर्याएर फहराउने काम उनीहरूले नै गर्छन्। यो सेवा निकै जोखिमपूर्ण मानिन्छ। किनकि ध्वजा परिवर्तन गर्न सेवकहरूलाई मन्दिरको अत्यन्त अग्लो शिखरमा चढ्नुपर्छ।

१४ हात लामो ध्वजा, रातो, पहेँलो र सेतो रङको प्रयोग
पण्डित माधव चन्द्र महापात्राका अनुसार जगन्नाथ मन्दिरको शिखरमा फहराइने ध्वजा करिब १४ हात लामो हुन्छ। यसमा रातो, पहेँलो वा सेतो रङका ध्वजा प्रयोग गरिन्छ। मन्दिरको शिखरमा रहेको नीलचक्रको माथि ध्वजा फहराइन्छ। ध्वजा परिवर्तन गर्ने क्रममा चुनरा सेवकहरू शिखरमा अगाडितर्फ फर्किएर चढ्ने गर्छन्।

अत्यन्त उचाइमा पुगेर गर्नुपर्ने यो काम जोखिमपूर्ण भए पनि सेवकहरूले पूर्ण श्रद्धा, साहस र समर्पणका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन्।

एक दिन ध्वजा नफहराए १८ वर्ष मन्दिर बन्द हुन्छ भन्ने दाबी गलत
सामाजिक सञ्जालमा जगन्नाथ मन्दिरको ध्वजासँग सम्बन्धित विभिन्न दाबीहरू सार्वजनिक हुने गरेका छन्। तीमध्ये कुनै दिन ध्वजा परिवर्तन नगरिए मन्दिरको ढोका १८ वर्षसम्म बन्द हुने दाबी पनि चर्चामा छ। तर पण्डित माधव चन्द्र महापात्राले यसलाई निराधार बताएका छन्। उनका अनुसार एक दिन ध्वजा परिवर्तन नभएकै कारण मन्दिर १८ वर्षसम्म बन्द हुने कुनै नियम छैन। यद्यपि दैनिक रूपमा यो परम्परा निर्वाह गर्न विशेष ध्यान दिइन्छ।
उनले वर्षौँदेखि यस परम्परामा अवरोध नआएको र चुनरा सेवकहरूले निरन्तर आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताए।
१५ दिनसम्म बन्द हुन्छ सामान्य दर्शन
जगन्नाथ मन्दिरका कपाट वर्षमा एक विशेष धार्मिक अवधिमा बन्द हुने गर्छन्। यो भगवान जगन्नाथको ‘अनसर’ परम्परासँग सम्बन्धित छ।
धार्मिक मान्यताअनुसार स्नान पूर्णिमापछि भगवान जगन्नाथ बिरामी पर्नुहुन्छ र करिब १५ दिनसम्म विश्राम गर्नुहुन्छ। यस अवधिमा भक्तजनले नियमित रूपमा हुने भगवानको सामान्य दर्शन गर्न पाउँदैनन्। यो परम्परा पनि जगन्नाथ मन्दिरको प्राचीन धार्मिक संस्कृतिको महत्वपूर्ण हिस्सा हो।
प्राकृतिक विपत्तिमा पनि रोकिँदैन सेवाभाव
जगन्नाथ मन्दिरको ध्वजा फहराउने परम्पराको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसलाई दैनिक निरन्तरता दिने प्रयास हो। पण्डित माधव चन्द्र महापात्राका अनुसार प्राकृतिक विपत्ति तथा कठिन परिस्थितिमा समेत चुनरा सेवकहरू आफ्नो सेवा निर्वाह गर्न प्रतिबद्ध रहन्छन्।
उनीहरूका लागि यो केवल पेसा वा जिम्मेवारी होइन, भगवान जगन्नाथप्रतिको श्रद्धा, समर्पण र पुर्खादेखि हस्तान्तरण हुँदै आएको धार्मिक दायित्व हो। पुरीको जगन्नाथ मन्दिरमा हरेक दिन ध्वजा फहराउने परम्पराले धार्मिक आस्था केवल पूजा र आराधनामा मात्र सीमित नहुने सन्देश दिन्छ।
यसभित्र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको विश्वास, अनुशासन, साहस र सेवाभावसमेत जोडिएको छ। यही कारण जगन्नाथ मन्दिरको शिखरमा फहराइने ध्वजा करोडौँ श्रद्धालुका लागि आस्था र विश्वासको जीवन्त प्रतीक बनेको छ।




