– पुष्प लामिछाने
बिबिसी नेपाली सेवाका प्रमुख तथा हेल्प नेपाल नेटर्वकका संयोजक रविन्द्र मिश्र कोरिया प्रस्थान गरेका छन् ।
नेपाल पत्रकार महासंघ कोरिया शाखा र हेल्लो नेपाल कोरिया डटकमको निमन्त्रणामा कोरिया आउन लागेका मिश्र काठमाण्डौबाट हङकङ हुदै भोलि बिहान १२:१५ मा इन्छन विमानस्थल आइपुग्ने छन् ।
मिश्रलाई स्वागत गर्न पत्रकार महासंघका प्रतिनिधि तथा हेल्लो नेपालकोरिया डटकमका प्रतिनिधीहरु लगायत विभिन्न विशिष्ट ब्यक्तिहरु विमानस्थल पुग्ने बताइएको छ ।
मिश्र यहि अगष्ट ५ तारिख आइतबार राजधानी सिओल नजिकै दोङ्देमुन स्थित कुक्मिन ह्वागानमा पत्रकार महासंघ कोरिया शाखा र हेल्लो नेपाल कोरिया डटकमको पहलमा हुन लागेको अन्तरक्रिया तथा वृत्तचित्र प्रर्दशनीका लागि यहाँ आउन लागेका हुन् ।
उनले उक्त अन्तक्रिया मार्फत हेल्प नेपाल र नेपालको विविध पक्षका बारेमा आफ्ना धारणा राख्ने छन्। कोरियामा हेल्प नेपाल नेटवर्कको संयोजन गरिरहेका पत्रकार रघु त्रिपाठीका अनुसार उक्त अन्तरक्रिया धेरै महत्वपूर्ण र ऐतिहासिक हुने बताउँदै उक्त दिन सहभागी भई यो अभियानलाई साथ दिन कोरियाबासी नेपालीहरू आतुर रहेको बताईएको छ ।
अहिलेसम्म कोरियामा रु ४ लाख भन्दा बढी रकम संकलन भएको र अझ धेरैले सहयोगको प्रतिवद्धता गरेको पनि त्रिपाठीले जानकारी गराएका छन् ।
मिश्रले आफूहरू यो अभियानको माध्याम मात्र भएको र यसको प्रमुख श्रेय सहयोगदाता सम्पूर्ण नेपाली दाजुभाइहरूलाई जाने बताइरहँदा कोरियामा पनि आयोजकले यो सहयोगको श्रेय सम्पुर्ण कोरियाबासी नेपालीहरुलाई जाने बताएको छ ।