बिहान करिब सवा ५ बजे सामान्य सुत्केरी भएकी स्याम्घा ३ ढाँड घर भई हाल व्यास ११ दमौलीमा भाडामा बस्दै आएकी २४ वर्षीया अमृता विक र उनले जन्माएकी नवजात छोरीको एम्वुलेन्सबाट पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । अमृता बिहीबार बिहान करिब सवा ५ बजे सामान्य तवरले नै सुत्केरी भएकी हुन् ।
अस्पतालका डाक्टर रामकुमार श्रेष्ठले भर्खर जन्मिएकी छोरीको स्वास प्रश्वासमा समस्या देखिएपछि पोखरा मणिपाल अस्पतालमा लैजान भने लगत्तै सुत्केरी आमाले समेत आफू पनि छोरीसँगै जान्छु भनेर पानी खाँदा अचानक सर्किएर स्वासप्रश्वासमा समस्या देखिएपछि पोखरा रिफर गरेकोमा बाटोमा नै दुवैको मृत्यु भएको बताए ।
‘यस्तो अप्रिय घटना होला भन्ने सोचेका थिएनौं,’ उनले भने, ‘पानी खाएर स्वासप्रश्वासमा समस्या देखिनु लगत्तै हामीले आवश्यक अक्सिजनसहित पोखरा पठाएका थियौं ।’
अमृतालाई चिकित्सकले साउन २२ गते सुत्केरी हुने सम्भावित समय तोकेका थिए । बुधबार साँझ करिब ४ बजे सामान्य पेट दुखेपछि उनी नाताले बहिनी पर्ने गीता सुनारसित उक्त अस्पतालमा भर्ना हुन आएकी थिइन् । अमृताले बिहान करिब सवा ५ बजे सामान्य सुत्केरी भएर जन्माएकी छोरीले सामान्य श्वास लिन नसकेको अस्पतालले जनायो ।
डाक्टर श्रेष्ठले अस्पतालमा यसअघि १५ जना महिलाको शल्यक्रिया र करिब ५० जना महिलाको सामान्य तवरले सुत्केरी गराएको जानकारी दिए ।
मृतक अमृताका श्रीमान् भरत कात्तिक महिनादेखि रोजगारीको सिलसिलामा साउदीमा छन् । उनलाई श्रीमती र छोरीको मृत्यु बारेमा जानकारी गराई सकिएको मृतकका देवर दीपकले बताए ।
उनको मृत्युको खबर सुनेपछि आमा ४५ वर्षीया नारायणी र बाबु ४७ वर्षीय कृष्णबहादुर अर्धचेत अवस्थामा छन् ।
साथी गीताले अस्पतालभित्र आँफूसँग बोल्दै गरेकी अमृताले पानी मागेपछि मुखमा थोरै पानी हालिदिएको केही क्षणमा नै स्वासफेर्न गाह्रो भयो भन्दै बिलौना गरेको बताइन् ।
‘मेरो शरीरको तल्लो भागदेखि मर्दै आएको छ,’ अब म बाँच्दिन भन्दै गर्दा मुखमा एक्कासि फिँज देखियो । तत्कालै जिब्रो टोक्न थालिन् ।’
उनले लगत्तै अस्पतालका डाक्टरले विशेष कक्षमा लगेको केही समयपछि पोखरा लैजान पर्छ भन्दै एम्बुलेन्समा चढाउन अस्तालका स्टाफहरू समेत आएको बताइन् ।
‘एम्बुलेन्स हिँडेको केही छिनमा पाखुरामा स्लाइन पानी नै चढेन,’ उनले भनिन्, ‘अस्पताल भित्रै मरेको मान्छेलाई डाक्टरहरूले पोखरा लैजानु पर्छ भन्दै झुटा कुरा गरे जस्तो लागेको छ ।’
उनले अस्पताल प्रशासनले आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताइन् । मृत्युको खबर लगत्तै दलित अधिकारकर्मीले क्षतिपूर्तिका लागि पहल गर्ने बताएका छन् ।



