नेपाल खानेपानी संस्थान, राष्ट्रिय स्वतन्त्र कर्मचारी परिषद्ले आजदेखि संस्थानको केन्द्रीय कार्यालयलगायत सबै शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
कर्मचारी परिषद्का अध्यक्ष भीमसेन पोखरेलले संस्थानमा लामो समयदेखि महाप्रबन्धक नियुक्ति हुन नसकेको र असारदेखि संस्थानमा कार्यरत कर्मचारीले पाउनुपर्ने तलब सुविधा नपाएकाले आजदेखि सबै कार्यालयमा तालाबन्दी गर्नुपरेको जानकारी दिनुभयो ।
उहाँले संस्थानमा महाप्रबन्धक नियुक्त नहुँदा गत असारदेखि आर्थिक कारोबार बन्द भई कर्मचारीले तलबभत्ता पाउन नसकेको बताउनुभयो ।
कर्मचारी परिषद्ले आजैदेखि नयाँ चरणको आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । परिषद्का अनुसार भोलि भदौ २८ गते बिहान १० देखि १२ बजेसम्म दुईघण्टा कसैसँग नबोलेर मौन रहने र ३० गतेदेखि संस्थानको केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरिने छ ।
सोमबार दुई घन्टा तालाबन्दी गरेको परिषद्ले हिजो बिहान १० देखि साँझ ५ बजेसम्म तालाबन्दी गरेको थियो । परिषद्ले महाप्रबन्धक नियुक्तिको कुनै पनि प्रक्रिया अगाडि नबढाइएकाले आजदेखि अनिश्चितकालीन तालाबन्दी गरेको जनाएको छ ।



