चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै रौतहटको अस्पताल तोडफोड

रौतहट  । चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै रौतहटको गौरमा रहेको जिल्ला अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन् ।

 

तोडफोडको कारण अस्पतालको आकस्मिक कक्षमा क्षति पुगेको छ । सर्पको डसाईबाट घाइते भएका रौतहटको झुनखुनुवा गाउं विकास समिति वडा नम्बर ५ का १६ वर्षिय रामेश्वर महतोको उपचारका क्रममा जिल्ला अस्पताल गौरमा आज बिहान मृत्यु भएको हो ।

 

अहेब सञ्जिव मण्डलको लापारवाहीका कारण महतोको मृत्यु भएको आरोप आफन्तहरुले लगाएका छन् । घरमै सुतिरहेका बेला आज बिहान २ बजे सर्पले महतोलाई डसेको थियो । सर्पले डसेलगत्तै उपचारका लागि गौर अस्पतालमा लगिएका महतोको बिहान मृत्यु भएको थियो ।

 

स्थानीय प्रशासन र परिवारबीच अहिले वार्ता भइरहेपनि अस्पताल भने वार्तामा आउन मानेको छैन । क्षतिपूर्ति नपाएसम्म अस्पतालबाट शव नउठाउने अडान आफन्तले लिएका छन् ।

 

– RSS

अन्य समाचारहरु