मृत्युदण्ड सजाय सुनाइएका हरिबहादुर घले पुनर्जीवन पाउने आशामा

– रामचन्द्र गिरी

 

क्वालालम्पुर – वैदेशिक रोजगारीका क्रममा मलेसिया आउूदा बसुन्चेत- १, नुवाकोटका हरिबहादुर घले मनभरि उज्ज्वल भविष्यको सपना बोकेर आएका थिए । तीन वर्षे करार पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका उनको सपना त्यतिखेर चकनाचुर भयो, जतिखेर लागूऔषधसहित पक्राउ परे ।

गत २००३ मे ३० मा पक्राउ परेका घले २००९ को नोभेम्बर २६ मा नसोचेको मृत्युदण्डको फैसला भयो । यस्तो होला भनेर न उनले सोचेका थिए न त परिवारले नै । आफूमाथिको सजायउपर उनी पुनरावेदन अदालत पुगे । त्यहाँ पनि संघीय अदालतकै फैसलालाई सदर गरिदिएपछि उनको बाँच्ने आशा क्षीण बन्दै गयो । त्यसपछि उनी सर्वोर्च्च अदालत पुगे । त्यहाँसम्म पुग्दा आफ्नो ‘जीवनरक्षा’ हुने आशा पलाएको थियो । तर त्यहाँ पनि अघिल्लो अदालतले गरेको मृत्युदण्डकै फैसला सदर भएपछि अहिले धेरै निराशा र थोरै आशाबीच पुनर्जीवनको भिख मागिरहेका छन् र भनिरहेका छन्, ‘मलाई बचाउनुहोस् ।’


निराशा बढे पनि उनमा आशाचाहिू मरिहालेको छैन । ९ वर्ष जेलयात्रासूगै उनी परिवार सम्भिmरहेका छन् । उनकी एकमात्र छोरी अहिले १३ वर्षकी भइसकेकी छन् । उनी जेल परेपछि श्रीमतीले दोस्रो विवाह गरिसकेकी छन् ।


नयाँ जीवनको भिख मागिरहेका उनी कानुनको नजरमा दोषी भए पनि नेपालीको छोरो भएको नाताले नजिक छन्् । सर्वोच्च अदालतको फैसला सुन्न पुगेको क्षण उनी ज्यादै निराश/दुखित देखिन्थे । फैसला सुन्न पुगेका दूतावासका एक कर्मचारी भन्छन्, ‘त्यो दिनमा जस्तो मैले उनलाई यसअघि देखेको थिइनू, उनी निकै दुःखी देखिन्थे ।’


दूतावासका अनुसार घलेलाई माफी दिन आग्रह गर्दै प्रधानमन्त्री भट्टराईले गएको साता पठाएको पत्र दूतावासमार्फत मलेसियाली प्रधानमन्त्री नाजिवलाई बुझाइसकिएको छ । घलेका वकिलको सल्लाहअनुसार प्रधानमन्त्रीको पत्रसहित घलेको बायोग्राफी पनि बुझाउने तरखरमा छ, यहाँस्थित दूतावास ।


एक अनलाइन पत्रिका ‘फ्रि मलेसिया टुडे डटकम’ का अनुसार सन् १९६० देखि २०१२ फेब्रुअरीसम्म गरी विभिन्न मुद्दामा ८ सय ६० जना मलेसियामा मृत्युदण्डको सजाय पर्खिरहेका छन् । तीमध्ये ४ सय ७९ जना घलेकै जस्तो लागूऔषधसम्बन्धी मुद्दाका छन् । यसअघि घलेकै जस्तो मुद्दामा मृत्युदण्ड सजाय सुनाइएका तीन फिलिपिनो महिलाले माफी पाएका थिए । त्यसैले आशा बाँकी छ, घलेले पनि माफी पाएमा पुनर्जीवन पाउन सक्छन् । उनले पुनर्जीवन पाएमा उनकै पीरले दिवंगत आमाको आत्माले पनि शान्ति पाउनेछ ।