ल्याटिन अमेरिकामा अलपत्र परेका नेपालीलाई नेपाल फर्काउने

ल्याटिन अमेरिकी राष्ट्र चिलीमा अलपत्र परेका नेपालीलाई चिली सरकारले बिहीबारबाट नेपाल फर्काउन सुरु गर्ने भएको छ। अलपत्र १४ मध्ये पहिलो चरणमा ६ जनालाई नेपाल फर्काउने निर्णय चिलीले गरेको हो।

मानव तस्करहरुले अमेरिकामा लगि रोजगारी दिलाउने भन्दै लाखौ रुपैयाँ लिइ उनीहरुलाई चिली पुर्‍याई अलपत्र पारेका थिए। त्यहाँ अलपत्र परेपछि उनीहरुले आफुलाई शरणार्थी दाबी गर्दै आएका थिए। स्थानिय अदालते उनीहरुलाई शरणार्थी मान्यता दिन अस्वीकार गरेपछि चिली सरकारले नेपाल फर्काउने निर्णय गरेको हो। ‘अलपत्र मध्ये ६ जनालाई कात्तिक २ देखि ७ गते भित्र नेपाल फिर्ता गर्ने निर्णय चिली सरकारको छ,’ ब्राजिलको साओपाओलोबाट अलपत्र परेकालाई सघाइरहेका केशव बास्कोटाले टेलिफोनबाट भने, ‘बाँकीलाई दोस्रो चरणमा पठाउने छ।’



बास्कोटाका अनुसार चिलीले आफ्ना १५ प्रहरीको साथमा ६ नेपालीलाई पठाउने छ। प्रहरीले अलपत्र ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याई नेपाल प्रहरीलाई बुझाएपछि स्वदेश फर्कने छन्।


अलपत्र पर्नेहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव तस्करको प्रलोभनमा परी झण्डै पाँच महिना अघि चिली पुगेका थिए। अलपत्र पर्नेहरुका अनुसार उनीहरुलाई अमेरिका लैजाने भन्दै बोलिभियाहुँदै ब्राजिल पुर्‍याइएको थियो। तस्करले ब्राजिलमा अफ्ठेरो परेको जनाउँदै अमेरिका जान चिलीबाट पनि सजिले हुने बताएपछि उनीहरु स्थानिय तस्करका साथ चिली पुगेका थिए।


त्यहाँ पुगे लगत्तै तस्करहरु भागेपछि उनीहरुले फसेको चाल पाएका थिए। अमेरिका जान प्रतिव्यत्ति १५ देखि २२ लाख रुपैयाँसम्म तस्करलाई बुझाएका उनीहरुले स्वदेश फर्कने कुनै बाटो नपाएपछि शरणार्थी भएको दाबी गरेका थिए। त्यसपछि उनीहरुले स्थानिय अदालतमा मुद्दा चलेको थियो।


अमेरिका जाने सपनामा तस्करलाई मोटो रकम बुझाई चिलीमा मात्र होइन ब्राजिल, बोलिभिया, इक्वेडर लगायत राष्ट्रमा सयौं नेपाली अलपत्र परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाई मानव तस्कररुले उनीहरुलाई ती देशमा पुर्‍याई अलपत्र पार्ने गरेका छन्।



‘अहिले ब्राजिल, इक्वेडर, कोस्टारिका, पानामा, बोलिभिया लगायतका ल्याटिन अमेरिकी राष्ट्रमा सयौं नेपाली अलपत्र छन्,’ बास्कोटाले भने, ‘अलपत्र पर्नेहरुको खान र बस्ने ठेगान छैन। अधिकांसले आफुलाई शरणार्थी दाबी गर्दै मुद्दा लड्न थालेका छन्।’


तस्करहरुले नेपालीलाई काठमाडौंबाट दोहाहुँदै, ब्राजिलबाट बोलिभिया र पुनः ब्राजिल पुर्‍याउने गरेका छन्। ब्राजिलमा मेक्सिकोको भिसा नलागे पुनः उनीहरुलाई बोलिभिया तथा चिलीतर्फ लग्ने गरिएको छ। तस्करले स-सानो समुह बनाई ब्राजिलबाट बोलिभिया प्रवेश गराउने गरेको बास्कोटाले जनाए।


दलबहादुर गुरुङ, आर के दाई, विपिन भन्ने व्यत्तिले काठमाडौंबाट नेपालीलाई ब्राजिलसम्म लैजाने गरेको अलपत्र पर्नेले बताएका छन्। ‘ब्राजिल प्रहरीले मात्र २५ जना नेपाली दलालको खोजि यहाँ गरिरहेको छ,’ बास्कोटाले जनाए। ब्राजिलमा पुगि अलपत्र परेकाले प्रहरी समक्ष उजुरी दिएपछि उनीहरुको खोजी गरिएको हो।


डेढ महिना अघि मात्र तस्करले अमेरिका लैजाँदै गरेका १० नेपाली कोस्टारिकामा पक्राउ परेका थिए। उनीहरु माथि स्थानिय प्रहरीले छानबिन गरिरहेको छ। बास्कोटाका अनुसार ब्राजिलमा ५०, मेक्सिकोमा २५, इक्वेडरमा १५ नेपाली अलपत्र छन्। सबैभन्दा बढि बोलिभियामा रहेको उनले जनाए। बोलिभिया सयौंको संख्यामा रहेको भनाई उनको छ। ब्राजिल सहित पाँच वटै देशमा अलपत्र परेकासँग सम्पर्क भएको उनले जनाए।


‘ब्राजिलबाट नेपाल फर्कन एक जनाको जहाज टिकट झण्डै दुइ लाख रुपैयाँ लाग्छ, उनीहरुसँग केही छैन,’ बास्कोटाले भने, ‘कहाँ राख्ने, के खुवाउने, कसरी नेपाल पठाउने केही सोच्न सकिएको छैन।’


तस्करले अमेरिका छिराउन नेपालीलाई काठमाडौबाट कतारको दोहा, दोहाबाट ब्राजिल, ब्राजिलबाट बोलेभिया, बोलेभियाबाट पेरु, पेरुबाट इक्वेडर, इक्वेडरबाट कोलम्बीया, कोलम्बीयाबाट पानामा, पानामाबाट कोस्टारिका, कोस्टारिकाबाट निकारागुवा, निकारागुवाबाट होन्डुरस, होन्डुरसबाट ग्वाटेमाला, ग्वाटेमालाबाट मेक्सिकोहुँदै चोरबाटो अमेरिका छिराउने गर्छन्।


बास्तोलाका अनुसार तस्करहरुले नेपालीलाई काठमाडौंबाट दोहा, दोहाबाट ब्राजिल र ब्राजिलबाट कोलम्बीयासम्म जहाजबाट लग्ने र त्यहाँबाट आँफुसँग रहेका सम्पूर्ण कागजात च्यात्न लगाई गाडी, पैदलबाटो हुँदै मेक्सिको पुर्‍याउने गर्छन्। मेक्सिकोबाट भने चोरबाटो प्रयोग गरी जल तथा स्थल मार्गबाट हुँदै अमेरिका प्रवेस गराउने गरेका छन्। यसरी काठमाडौंबाट अमेरिका छिराउँदा ६ महिनासम्म लगाउने गर्छन्।


‘यसरी अमेरिका जाँदा बिच बाटोमा कसैको मृत्यु भए, उसको पहिचान हुँदैन र परिवारले पत्तो समेत पाउँदैनन्,’ बास्कोटाले भने, ‘परिचय दिने राहदानी लगायत कागजात साथमा नहुनेहुँदा कति नेपाली मरेका वा वेपत्ता भएका छन् पत्तो छैन।’


अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्याङ्क अनुसार तस्करले लामो समयदेखि नेपालीलाई अवैधानिक बाटो प्रयोग गरी गैर कानुनी रुपमा मेक्सिकोबाट अमेरिका छिराउने गरेका छन्। यसरी तस्करलाई मोटो रकम बुझाई गैर कानुनी मार्ग प्रयोग गरी मेक्सिकोबाट प्रवेश गर्न खोज्ने ६५ नेपालीलाई अमेरिकी प्रहरीले सन् २००७ मा पक्राउ गरेको थियो।

 सन् २०११ मा आइपुग्दा यो संख्या बढेर १ सय ४ पुगेको छ। मेक्सिकोको नेसनल इमिग्रेसन् इन्स्टिच्युटको अध्ययनले प्रत्येक बर्ष कम्तीमा पनि १ लाख ५० हजार बिदेशीले अवैधानिक रुपमा मेक्सिको सिमा पार गरी अमेरिका प्रवेश गर्ने देखाएको छ।

 

Source:Nagarik