दसैं बिदा भएपछि सरकारी तथा गैर सरकारी कार्यालय बन्द छन् । अधिकांश शिक्षक, कर्मचारी, बिधार्थी, व्यापारी, व्यावसायी तथा सर्बसाधारण आ-आफ्नो घर गइसकेका छन् । कतिपय शिक्षक तथा कर्मचारीहरु छुट्टी नै नभइ दुई सातादेखि नै हिँडन थालेका हुन् । भोजपुर सदरमुकामस्थित सबै कार्यालय तथा शैक्षिक संस्थाहरु सनिबारदेखि बन्द छन् । सदरमुकामस्थित व्यापारी, व्यावसायी तथा सर्बसाधारण शैक्षिक संस्थाहरुमा एक साताअघि नै छुट्टी भएको हो । भोजपुर बजारमा विगत बर्षमा झैं दसैं का निम्ति लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, उपभोग्य वस्तु तथा सामग्री खरिद गर्ने सर्वसाधारणको जमघट नभएको अधिकांश व्यापारीले जनाए । विगतको दसैं भन्दा यसपाली थोक तथा खुद्रा व्यापारमा निकै ह्रास आएको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेज मोक्तानले बताए । ‘ दसैं को बेला किनमेल गर्ने मानिसको संख्या निकै घट्यो,’ व्यापारी मोक्तानले भने -‘अधिकांश व्यापारीको २५ देखि ६० प्रतिशतसम्म बिक्री घटेको छ ।’
गाउँघरमा दसैं मनाउने परम्परागत मान्यता परिवर्तन भएकाले दसैं को बेला किनमेल गर्ने मानिसको संख्या निकै घटेकाले व्यापार व्यावसाय प्रभावित हुनु स्वाभाविकै भएको अर्का व्यापारी रामचन्द्र श्रेष्ठले बताए । ‘पहिला पहिला दसैं मा लुगाफाटा किन्ने मानिसको घुइँचो हुन्थ्यो,’ व्यापारी श्रेष्ठ भन्छन् -‘ दसैं मा नयाँ लुगा लगाउने चलन थियो, धेरै बिक्री हुन्थ्यो, तर यसपाली थान कपडा त बिक्री नै भएन ।’
बाजेको पालादेखि नै व्यापार गर्दै आएका भोजपुर बजारका मोक्तान परिवार पनि यसपालीको दसैं देखि निराश बनेका छन् । सदाझैं दसैं को बेला धेरै मालसामान बिक्री गर्ने आशा गरेका ७१ बषिर्य शेरबहादुर मोक्तान ६० प्रतिशत व्यापार घटेको बताउँछन् । मानिसहरुको आवतजावत नै नभएकोले व्यापार घटेको उनको ठम्याई छ । कतिपय सर्बसाधारण शहरबाट खरिद गरेर ल्याउने र गाउँ गाउँमा सडक यातायात विस्तार भइसकेकाले गाउँघरमै आवश्यक उपभोग्य सामग्री पाउने भएकाले सदरमुकाम आउनु नपर्ने अवस्था भएकोले सदरमुकामको व्यापारमा ह्रास आएको व्यापारी भरत श्रेष्ठले बताए । पछिल्लो समय गाउँघरमा विभिन्न जातीय, धार्मिक तथा साम्प्रादायिक भावनाले आदिबासी जनजाति समुदायका मानिसहरु हिन्दु धर्मावलम्बीहरुको चाड दसैं लाई धार्मिक साँस्कृतिक सहिष्णुताको रुपमा मात्रै मान्दै आएकाले खर्चिलो गतिबिधिहरु घटदै गएका छन् ।
हिंजोआज दसैं मा नयाँ लुगा लगाउनुपर्ने, मिठो खाने, किनमेल गर्नलाई दसैं नै पर्खनु नपर्ने भएकोले पनि व्यापारमा ह्रास आएको हो । ढुवानीमा समस्या, यातयात विस्तार, व्यापारीको संख्या बृद्धि, प्रतिश्पर्धात्मक बजार भएकोले गर्दा, आकाशिएको महङ्गी, न्युन आय भएका मानिसहरुको क्रयशक्तिमा ह्रास आएकाले पनि व्यापार घटेको भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष डम्बर श्रेष्ठलले बताए । तर उदेश्य नभएपनि व्यापार व्यावसाय नाफामै चलेकोले वस्तुबजार गुणात्मक रुपमा बृति भएको संघका अध्यक्ष श्रेष्ठले बताए । भोजपुर बजारमा थान कपडाभन्दा रेडिमेड कपडाको व्यापार निकै बढेको बिक्रेताहरुले बताए । रेडिमेड कपडा ९० प्रतिशत र थान कपडा दश प्रतिशत मात्र बिक्री हुने गरेको अर्का व्यपारी सागरनारयण मोक्तानले बताए । बढ्दो शहरीकरण, औधोगिकिकरण, व्यापारिकरण, वस्तुकरणको प्रभावले गर्दा युवापुस्तामा आकर्षक डिजाइन, शुलभ मुल्य तथा माग बमोजिमको आपूर्ति गर्नसक्नुपर्ने अवस्था रहेको व्यापारीहरुले बताए । विगतमा जस्तो विक्री नभएपनि प्रतिश्पर्धात्मक बजारमा राम्रो मुनाफा आर्जन गर्दै आएको अधिकांस व्यापारीले ईकान्तिपुर लाई बताए ।
दसैं को बेला गरिएको सामान्य बजार सर्बेक्षणमा यहाँका व्यापारीहरुले सरदर दैनिक २५ हजार रुपैंयाँदेखि एक लाख रुपैंयाँसम्मको कारोबार गर्दै आएको बताए । यसअनुसार भोजपुरमा प्रतिव्यक्ति सरदर मासिक १५ देखि ३० लाख रुपैंयाँको व्यापार हुने गरेको उद्योग वाणिज्य संघले जनाएको छ ।



