चौतारा – उमेर ढाँटेर नागरिकता लिने दुई किशोरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा नागरिकताको प्रमाणपत्र छाडेर फरार भएका छन्। कम उमेरका उनीहरूले बढी उमेर देखाई नागरिकताको प्रमाणपत्र लिन सफल भएपछि राहदानी लिन आउँदा सोधपुछ गर्दा नागरिकताको प्रमाणपत्र छाडेर फरार भएका हुन्।
जिल्लाको महाङ्काल गाविस-३ निवासी नानिमाया तामाङ र रोसनी तामाङले उमेर ढाँटेर २१ वर्षको उमेर राखी सोही कार्यालयबाट गत जेठ ३० गते नागरिकताको प्रमाणपत्र लिएका थिए। वैदेशिक रोजगारीको लागि बढी उमेर देखाई कम उमेरका किशोरीहरूले नागरिकताको प्रमाणपत्र लिने प्रवृत्ति बढेको छ।
सोको जानकारी पाएपछि सोधपुछ गर्दा उनीहरूले नागरिकताको प्रमाणपत्रनै छाडेर फरार भएको प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद अधिकारीले बताए।
यसैबीच तिब्बती नागरिकलाई वंशजको आधारमा नेपाली नागरिकता दिन सिफारिस गर्ने सिन्धुकोट गाविसका सचिव नवराज सेन दुईसातादेखि फरार भएका छन् । गाविस सचिव सेनलाई गाविसको कामबाटसमेत हटाइसकेको जिल्ला विकास समितिले जनाएको छ ।
आर्थिक प्रलोभनमा परी गाविस सचिव सेनले तिब्बती नागरिक पेमा लामालाई सिन्धुकोट गाविस-९ निवासी भनी वंशजको आधारमा नागरिकता दिन सिफारिस गरेका थिए ।
उक्त अभियोगमा दाजु बन्ने सिन्धुकोट ९ का वाङदोर्जे लामा र लेखापढी व्यवसायी गर्ने रामचन्द्र गौतम थुनामा छन् । उक्त प्रकरणमा गाविस सचिवसहित सोही वडाको हो भनी सर्जमिन गर्ने अन्य चारजनासमेत फरार रहेको प्रहरीले जनाएको छ । रासस



