महेश्वर चामलिङ राई
उदयपुर – वैदेशिक रोजगारीको सिलसिलामा दोहा कतारमा कार्यरत खोटाङका एक युवाको ज्यान गएको छ। जिल्लाको बुइपा २ का धिरज राईको कतारको दुखानस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा बिहीबार राति मृत्यु भएको परिवारले जनाएको छ।
चार वर्षदेखि कतारको सिसिआईसी कम्पनीमा स्काफोल्डरको रुपमा कार्यरत राई पछिल्लो पटक दुई महिनाको छुट्टीमा घर आएका थिए। दुई महिनाको छुट्टी सकेर पुन कतार गएका उनी त्यहाँ पुगेको तीन दिन नबित्दै मृत अवस्थामा फेला परेको खोटाङ सेवा समाज दोहा कतारका महासचिव नारायण बस्नेतले बताए।
उनको लाश पोष्टमार्टमका लागि स्थानीय हमाद हस्पिटलमा राखिएको महासचिव बस्नेतले बताए।
परिवारको एकमात्र कमाउने अभिभावक रहेका राईको मृत्युपछि एक छोरा, एक छोरी र श्रीमतिको विचल्ली हुने पिरलो बढेको छिमेकी सरोज राईले बताए।