गाउँकै एक युवकसँग प्रेम गरेको रिसमा छोरीको हत्या

निजगढ, बारा – प्रहरीले किशोरी बिन्दु ठाकुरको हत्या बुवा रामा ठाकुरको संलग्नतामा भएको निष्कर्ष निकाल्दै बाबु रामाविरुद्ध सोमबार मुद्दा दर्ता गरेको छ । प्रहरीले अनुसन्धानका लागि अदालतबाट १५ दिनको म्याद पाएको छ ।

रहस्यमय हत्याबारे छानबिन गर्न चौतर्फी दबाब बढेपछि घटनाको छेठौंदिन प्रहरीले पत्रकार सम्मेलन गरी हत्याबारे जानकारी गराएको हो । बिन्दुको गाउँकै एक युवकसँग प्रेम सम्बन्ध रहँदै आएको थाहा भएपछि रामाले आक्रोशित छोरी मारेको प्रहरी दाबी छ ।

‘परस्थितीजन्य प्रमाणको आधारमा तत्कालका लागि बिन्दुकी बुवा रामामाथि मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको हो,’ प्रहरी अनुसन्धान अधिकृत रामनाथ घिमिरेले भने, ‘बयानको लिखित तथा अडियो रेकर्ड गरी फाइल तयार गरिएको छ ।’ घिमिरे भन्छन्, ‘बिन्दुकी हत्या घरभित्रै गरी आगो लगाई फालिएको हो ।’ ट्युसन पढ्न एकाबिहानै घरबाट निस्केकी छात्रा बिन्दुकी शव एक घण्टा नबित्दै गत पुस ११ गते उनको घर छेउको सय मिटर दुरीमा जलाएर फालिएको अवस्थामा भेटिएको थियो ।

मृतक बिन्दुको परिवारको बयान एक अर्कासित नमिलेको, मट्टितेलको भाँडो घरभित्रै लुकाएर राखिएको, बिन्दुलाई घटनाको दिन कसैले बाहिर नदेखेको, बिन्दुको शवको साथमा उनकै बाबुले प्रयोग गर्ने टर्च फेला परेको, घरभित्र डढेको भुईं कालो भएपछि लिपिएको अवस्था रहेको, बिन्दुको सल शवमा ओढाइएको अवस्थामा भेटिएको, चप्पल घरमै भेटिएकोलगायतका कारणले उनको हत्या परिवारको संलग्नतामा घरभित्रै भएको पुष्टि हुन आएको प्रहरीले जनायो ।

 

– ekantipur

अन्य समाचारहरु