अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा गत वर्षको तुलनामा यस वर्ष आउने पर्यटकको संख्या २९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष ९३ राष्ट्रका पाँच लाख ८७ हजार पाँच सय ३८ पर्यटक लुम्बिनी आएका थिए भने यस वर्ष ९२ राष्ट्रका सात लाख ५८ हजार दुई सय ६९ जना पर्यटकहरूले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषको सूचना शाखाले जनाएको छ ।
जसमा नेपालबाट ५९ हजार ७३ जना र भारतबाट एक लाख १३ हजार एक सय ९५ र अन्य देशका एक लाख ३६ हजार एकजनाले भ्रमण गरेको कोषका सूचना प्रमुख हरिध्वज राईले बताउनुभयो ।
यस्तै अन्य मुलुकबाट आउने सबैभन्दा बढी श्रीलंकाका ५२ हजार ६ सय ७१, थाइल्यान्डका २८ हजार चार सय ८०, म्यान्मारका १७ हजार पाँच सय ९७, चीनका आठ हजार पाँच सय ९८, दक्षिण कोरियाका पाँच हजार एक सय ५८ जना रहेका छन् ।
नेपाल सरकारले सन् २०१२ मा १० लाख पर्यटक लुम्बिनी भित्र्याउने लक्ष्य राखे पनि सरकार असफल देखिएको छ । सरकारको लक्ष्यभन्दा दुई लाख ४२ हजार पर्यटक कमी भएको छ । सरकारको लक्ष्य रहे पनि विकास कोषको फितलो व्यवस्थापनका कारण पर्यटकको संख्यामा वृद्धि नभएको पर्यटन व्यवसायीको भनाइ छ ।