नेपाली समाज यूएइको कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न/दुतावास उपस्थितहुन मानेन

– उमाकान्त पाण्डे गाउंले  
नेपाली समाज यूएइको कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिघटित कार्य समितिले दुबइको याक एण्ड एती रेस्टुरेन्टमा गत शुक्रबार एक कार्यक्रमको आयोजना गरि गठित तदर्थ समितिलाई समाजका सम्पूर्ण कागजपत्र तथा सचिवालय सम्लग्न विवरणका साथ २ वर्षे कार्यकालमा गरेका सम्पूर्ण गतिबिधी एवम आय ब्यय विवरण सहित आफ्नो सम्पूर्ण कार्यभार हस्तान्तरण गरेको हो । 
बिघटित कार्य समितिका पदाधिकारी तथा सदस्यहरू,नव गठित तदर्थ समितिका सदस्यहरू,सस्थापक सदस्य तथा समाजका सकृय समाजसेवीहरू लगायतको उपस्थितिमा समाजलाई बिधिवत रुपमा तदर्थ समितिको जिम्मा लगाइएको हो ।
कार्यक्रममा नेपाली समाज यूएइका तदर्थ समितिका संयोजक राजु गुरुङ, समाजका पूर्व अध्यक्ष यम तमु , समाजका निबर्तमान परिषद अध्यक्ष तथा बर्तमान तदर्थ समिति सदस्य तुलसी तामाङ्, महिला समिति यूएइकी अध्यक्ष राधा ढकाल, समाजका सँस्थापक सदस्य शारदा प्रसाद भट्टराई, निर्वाचन समितिका संयोजक गोपाल कंडेल, समाजसेवी छत्र लामा लगायतले मन्तब्य प्रस्तुत गरेका थिए । 
आफ्ना मन्तब्यका क्रममा अधिकांश बक्ताहरूले नेपाली समाज यूएइ सम्पुर्ण यूएइवासी नेपालीहरूको पहिलो संस्था भएकोले यसको साख र गरिमा जोगाउन सबै सचेत हुनु पर्ने भन्दै साझा संगठनको अबधारणालाई पुस्टी गर्दै आगामी दिनमा समाजलाई कसरी अझ प्रभावकारी ढंगबाट अघि बढाउन सकिन्छ भन्ने बारे बारे सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । 
नेपाली समाज युएईको बिधानत: नेपाली राजदुतावास आबुधाबी समाजको सरक्षक रहने तथा समाजको कार्यभार हस्तान्तरण कार्यक्रम दुतावासको रोहबरमा गरिने यस् अघिको प्रचलन यस् पटक बाट तोडिएको छ । समाजको लिखित एवम मौखिक आग्रहलाई दुतावासले अस्विकार गरेको नेपाली समाज युएईका निवर्तमान अध्यक्ष कृष्ण ढकालले उल्लेख गरेका थिए । 
समाजका निबर्तमान सचिबले कार्यक्रमको सुरुवातमै प्राबिधिक कारणबस दुतावासमा हस्तान्तरण कार्यक्रम आयोजना गर्न नसकिएकोमा दु:ख ब्यक्त गरेका थिए । यस् बिषयमा आगामी दिनमा बिशेष ख्याल गरियोश,’दुतावासलाई युएईमा जन्मदिने नेपाली समाज हो समाजलाई साकारात्मक सहयोग दुतावासले गर्नु पर्छ,’अन्य कार्यक्रममा आउने हस्तान्तरणको बेला किन दुतावासले सहयोग गरेन? यस् बारे अब बहस गर्नै पर्छ समाजका भुपु अध्यक्ष यम तमुले भने । 
समाजको सम्पत्तिको रुपमा रहेको निकै पुरानो मोडेलको लामो समय देखि प्रयोग नगरी थन्क्याइ राखिएको कम्प्युटर, प्रिन्टर, माइन्युटिङ बुकहरू, समाजको लोगो अंकित छापहरू तथा अन्य दस्ताबेजहरू तदर्थ समितिलाई सुम्पीइएको थियो । 
तदर्थ समितिका सदस्यहरूलाई खादा ओढाएर स्वागत गरिएको थियो भने बिघटित कार्य समितिका पदाधिकरी तथा सदस्यहरू, क्षेत्रिय समितिका प्रमुखहरू तथा समाजको पछिल्लो कार्यकालमा सहयोग गर्ने  केहीलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । समाजको सम्मान बाट डेढ दर्जन समाजसेवीहरुलाई सम्मानित गरिएको थियो । तदर्थ समितिलाई बधाई तथा शुभकामना दिंदै निवर्तमान अध्यक्ष कृष्ण बहादुर ढकालले आफ्नो कार्यकालमा सक्रिय रुपमा साथ दिने सबैमा धन्यबाद प्रकट गर्दै आगामी दिनमा समाजको अझ धेरै प्रगतिको लागि शुभकामना ब्यक्त गर्नुका साथै तदर्थ समितिलाई आबस्यक सहयोग गर्न सधैं तत्पर रहेको धारणा राखेका थिए ।
सस्थापक सदस्य शारदा प्रसाद भट्टराईको प्रमुख आतिथ्यता समाजका निबर्तमान अध्यक्ष कृष्ण बहादुर ढकालको अध्यक्षता, तथा केन्द्रिय सहकोषाधक्ष्य शिवराज जैसीको सावगत मन्तब्यमा सम्पन्न कार्यक्रमको सन्चालन समाजका निबर्तमान सचिब उमाकान्त पाण्डे गाउंलेले गरेका थिए ।