रौतहट- रौतहटका विभिन्न सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठनसुरु गरेको छ। जिल्लाका उत्तरी, मध्य तथा दक्षिणी क्षेत्रमा अंग्रेजी माध्यमको पढाइ सुरु भएको पाइएको हो। सरकारी विद्यालयप्रति विद्यार्थीको संख्या घटेको र अंग्रेजी माध्यमका निजी विद्यालयप्रति विद्यालयको आकर्षण बढ्दै गएपछि विद्यार्थीलाई आकर्षित गर्न र विद्यालयलाई प्रतिस्पर्धी बनाउन विभिन्न विद्यालयले अंग्रेजी माध्यम अपनाएका हुन्।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको सुबलाल उच्च माध्यमिक विद्यालयले अंग्रेजी माध्यमको पद्धति अपनाएको छ भने सदरमुकाम गौरका जुद्ध उच्च माध्यमिक विद्यालयले पनि सोही पद्धतिमा कक्षा दशसम्मको अध्ययन अध्यापन गर्दै आएको छ। यसै वर्षदेखि बालमन्दिर निम्न माध्यमिक विद्यालय गौरले पनि कक्षा एकदेखि पाँचसम्म अंग्रेजी माध्यममा शिक्षा दिन थालेको प्रधानाध्यापक गणेश गिरीले बताएका छन्।
यसै उच्च माध्यमिक विद्यालय गरुडाले पनि कक्षा एकमा यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमको पठनपाठन सुरु गरेको व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण चौधरीले बताएका छन्। अंग्रेजी माध्यममा जिल्लाका केही सरकारीविद्यालयले पनि पठनपाठन थालेको थाहा हुन आएको छ।
बोर्डिङभन्दा निकै कम शुल्कमा सरकारी विद्यालयमा नै अंग्रेजी माध्यमको पठनपाठन हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको र अभिभावकले पनि बोर्डिङमा नै पढाएको जस्तो अनुभूति भएको गौरको जुद्ध उच्च माध्यमिक विद्यालयका एक अभिभावकले बताएका छन्।
RSS