स्पेनमा’दियाली’ विश्व मानवशास्त्री सम्मेलनमा अनुसन्धान पत्रको रूपमा छानियो

सिन्धुपाल्चोकको ठोकर्पा गाउँमा फिल्म वर्कसप चलाएर त्यहींका बासिन्दालाई खेलाइएको छोटो फिल्म ‘दियाली’ स्पेनमा अर्को हप्ता हुन लागेको विश्व मानवशास्त्री सम्मेलनमा अनुसन्धान पत्रको रूपमा छानिएको छ । ५० मिनेटको फिल्म साउथ एसियन फिल्म फेस्टिभल गोवा र दिल्ली इन्टरनेसनल फेस्टिभलमा प्रदर्शनपछि स्पेन जान लागेको हो । सचिन घिमिरे र अरुण डी जोशी निर्देशित फिल्ममा शिक्षाबाट वञ्चित हुनुपर्ने ग्रामीण कारण खोजिएको छ ।   
अफ्रिका , तान्जनिया, क्युबा, स्पेन, नेदरल्यान्ड, ब्राजिल गरी १८ देशका फिल्म देखाइने सम्मेलनमा यसपटक नेपालबाट पनि फिल्म छनोट भएको हो । युरोपियन एसोसिएसन फर एन्थ्रोपलजी र सोसाइटी फर मेडिकल एन्थ्रोपलजीले  गरेको सम्मेलनमा फिल्म प्रदर्शनपछि यसको विषयवस्तु, प्रस्तुति र त्यसको मानवशास्त्रीय विवेचना गरिने सचिनले बताए । 
‘संसारभरका ६ सय समाजशास्त्री भेला भएर एक्काइसौं शताब्दीको समाजशास्त्रीय चिन्ताबारे बहस हुने सम्मेलनमा नेपाली सिर्जना पनि पर्नु खुसीको कुरा हो,’ उनले भने, ‘नेपाली फिल्मको वैकल्पिक बजारको खोजी भइरहेका बेला अनुसन्धान पत्रको रूपमा समेत फिल्म छनोट हुनुलाई सम्भावनाको सकारात्मक संकेत मान्न सकिन्छ ।’
सम्मेलनमा उनले प्राज्ञिक अनुसन्धानका लागि एक हजार अमेरिकी डलरको अवार्डसमेत पाउँदै छन् । गोमा ढुंगाना, मुना श्रेष्ठ, सुब्बे पहरी, कमलकृष्ण श्रेष्ठ लगायत अभिनित फिल्म नारायण जिसीले खिचेका हुन् । दुर्गम सिन्धुपाल्चोकमा स्कुल पढ्दापढ्दै छाडेर बनेपामा ठेला चलाउन आउनेलाई शैक्षिक चेतनादेखि चेलिबेटी बेचविखन, सासुबुहारी सम्बन्ध र अन्धविश्वाससम्मका सन्दर्भ कथानक बनाइएको छ । सम्मेलनका लागि यही सोमबार स्पेनतिर जान लागेका सचिनले सम्मेलनमै ‘साउन्ड इथ्नोग्राफी र इथ्नोग्राफिक फिल्म’ माथि कार्यशाला चलाउने बताइएको छ ।