चितवन – दारेचोक ३, कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ४ दिन बितिसक्दा पनि अझै फेला पर्न सकेका छैनन् ।
बेपत्ताको खोजी कार्यका लागि सोमबार बिहानबाट सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी नदीमा परिचालन गरिएको भए पनि फेला पार्न नसकिएको केन्द्रका डीएसपी दीपेन्द्र गिरीले बताए । सशस्त्र प्रहरी र जनपथ प्रहरीका विभिन्न ४ वटा समूह खोजीमा खटिएका छन् ।
त्रिशूलीमा पानीको बहाव धेरै भएकाले खोजीमा कठिनाइ भएको खोजी कार्यमा संलग्न प्रहरीले जनाए । खोजी कार्यमा विपत व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी र जिप्रका चितवनका ५ दर्जनभन्दा बढी प्रहरी खटिएका छन् ।
उनीहरूको खोजीका लागि सोमबार दिनभर घटनास्थलबाट देवघाटसम्म खोजे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । शनिबार भरतपुरबाट कुरिनटार घुम्न गएका ४ किशोरी र १ किशोर पौडी खेल्ने क्रममा नदीमा बगेर बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा भरतपुर ५ स्थित सापकोटा चोकका रजनी रेग्मी, लिजा रेग्मी, मोनिका रेग्मी, अस्मिता थापा र नारायणगढ बेलचोकका जनक राउत छन् । बेपत्ता भएसँगै परिवार भावविह्वल छन् ।
RSS