खगेन्द्र अवस्थी
बैतडी – यार्सागुम्बा संकलन गर्न गएका एक जना मृत अवस्थामा भेटिएका छन् । मंगलबार धारी- ३ का ३३ वर्षीय देवसिंह कार्की मृत भेटिएका हुन् ।
यार्सा संकलन गरी घर फर्किदै गरेका कार्की सित्तोला गाविसको चाइमटेला स्थित दुदीयाम खोल्सोमा टाउको क्षतविक्षप्त तथा अनुहार नचिनिने अवस्थामा भेटिएको मृतकका काका प्रेमसिंह कार्कीले टेलिफोनमा बताए ।
साउन ६ गते घर फर्किन लागेको भन्दै मृतक कार्कीले घरमा खबर गरेका थिए । दुई दिन लाग्ने बाटोमा साता वित्दा पनि घर नपुग्दा आफन्त खोजी गर्न चाइमटेलातिर गएका थिए । धेरै दिनको खोजविनपछि खोलामा मृत भेटिएको मृत्तकका काका प्रेमसिहले बताए ।
कार्कीको हत्या गरिएको आशंका गरिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश बमले घट्नाबारे अनुसन्धान थालेको बताए ।