काठमाडौं । अमेरिकी डलर लगातार उकालो लाग्दा नेपाली रुपैयाँ इतिहासमै कमजोर बनेको छ । एक डलर किन्न अब नेपाली एक सय रुपैयाँ ६० पैसा तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक डलरको मूल्य एक सय रुपैयाँ ६० पैसा तोकेपछि डलरको भाउले अकाशिँदो कीर्तिमान कायम गरेको हो ।
हिजो बैंकहरुले डलर एक सय रुपैयाँ ९० पैसासम्ममा कारोबार गरे । राष्ट्र बैंकले एक डलरको मूल्य ९८ रुपैया ९५ पैसा तोके पनि बिहान बजार खुल्ने वित्तिकै बैंकहरुले मूल्य बढाएर कारोबार सुरु गरेका थिए । गत बर्षको असार ९ गते एक डलरको मूल्य त्यतिबेलासम्मको महँगो ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो । त्यसपछि घट्न थालेको डलरको मूल्य चार महिनायता भने निरन्तर उकालो लागिरहेको ।
दुई महिनायता डलरले हरेक साताजस्तो नयाँ कीर्तिमान छोईरहेको छ । भारतीय मुद्रा कमजोर हुँदा डलरको भाउ बढेको हो । भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तिएको हो ।
डलरको मूल्य उकालो लागेसँगै यसले नेपाली अर्थतन्त्रलाई प्रत्यक्ष असर पार्नेछ । खासगरी खुला बजार अर्थतन्त्रमा पार्ने प्रभावसँगै बजार भाउ ह्वात्तै बढ्ने आशंका व्यापारीहरुले गरेका छन् । नेपाल जस्तो कमजोर बजार अनुगमन प्रणाली भएका देशमा त यसले नकारात्मक परिसूचकहरु देखाउने त्रास बढेको छ । आयातित वस्तुको मूल्यमा करिब २५ प्रतिशतसम्म बढ्ने आशंका व्यवसायीहरुको छ । निर्यात न्यून र आयातमुखी अर्थतन्त्र भएको हाम्रो देशले डलर वृद्धीबाट कुनै फाइदा लिन सक्नेछैन ।
RSS, IMAGECHANNEL