मलेसियास्थित नेपाली दुतावासमा एमआरपी पासपोर्टका लागि आवेदन दिन आउने नेपालीलाई सक्कली नागरिकताको प्रमाणपत्र अनिवार्य

क्वालालम्पुर – मलेसियास्थित नेपाली दुतावासले एमआरपी (मेसिन रिडेवल पासपोर्ट) का लागि आवेदन दिन आउने नेपालीलाई सक्कली नागरिकताको प्रमाणपत्र अनिवार्य ल्याउन भनेको छ । दुतावासले विज्ञप्ती जारी गर्दै केही व्यक्तिहरुले झुक्याएर नागरिकताको नक्कली फोटोकपीसमेत पेस गरेको पाइएको जनाएको छ ।


मलेसियामा कार्यरत नेपालीहरुको अधिकांशको नागरिकताको प्रमाणपत्र नेपालमै रहेकोप्रति ध्यान दिँदै दुतावासले आगामी अक्टोबर १ देखि एमआरपीका लागि आवेदन दिन आउने नेपालीका लागि त्यस्तो प्रावधान ल्याएको हो । शुक्रबार जारी सो विज्ञप्तीमा सरकारी कागज किर्ते गर्नेलाई मुलुकी ऐन २०२० अन्तर्गत कडा कार्बाही हुने जनाइएको छ ।


यसअघि मलेसियाली सरकारद्वारा ल्याइएको आममाफी कार्यक्रममा बहुसंख्यकले अस्थायी हस्तलिखित राहदानी लिएका थिए । तीमध्ये हाल अधिकांश राहदानीको म्याद सकिँदैछ । दुतावासका अनुसार म्याद सकिन थालेपछि नयाँ राहदानी लिन आउने तथा राहदानी नवीकरणका लागि आउने नेपालीको संख्या दिनानुदिन बढ्ने गरेको छ ।

 

Ekantipur