खोटाङ – खोटाङ जिल्लाको एक विद्यालयमा अज्ञात रोग फैलिएपछि विद्यालय बन्द गरिएको छ । टाउको दुख्ने, ज्वरो आउने, काम्ने, पेट दुख्ने, चिच्याउने र बेहोस हुने जस्ता लक्षण देखा परेपछि खार्मीस्थित कालिका मावि बन्द भएको हो ।
आइतबार दुई जना विद्यार्थीमा देखा परेको यो रोग सोमबार बिहानसम्ममा १७ जना विद्यार्थी थला परेपछि विद्यालय बन्द गरिएको विद्यालयका प्रअ युद्धबहादुर राईले बताए । कक्षा-९ र १० मा अध्ययनरत विद्यार्थीमा यस्तो रोग देखा परेपछि उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थामा भर्ना गरिएको प्रधानाध्यपक राईले जनाए । ‘स्वस्थ्य संस्थामा विद्यार्थी त लगियो तर, सिटामोल बाहेक अन्य कुनै पनि औषधि रहेनछ ।’ राईले-‘सिटामोल बाहेक अन्य औषधि नभएपछि झनै समस्या थपिएको छ ।’
स्थानीय स्वास्थ्य संस्थामा प्रभावकारी उपचार हुन नसकेपछि आफन्तलाई बोलाएर बिरामी विद्यार्थी जिम्मा लगाइएको शिक्षक देवकुमार राईले जानकारी दिए । सदरमुकाम दिक्तेलदेखि उत्तरी क्षेत्रमा पर्ने खार्मी गाविसको यस विद्यालयका ४ सय ५० जना विद्यार्थीमध्ये ४ छात्र र १३ छात्रामा उक्त लक्षण देखा परेको शिक्षक राईको भनाइ छ ।
रोगको परीक्षण गरेर खबर तत्काल गर्न उपस्वास्थ्यचौकीलाई निर्देशन दिइएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नवलकिशोर झाले बताए । ‘महामारीकै रुपमा फैलिए जनशक्ति र औषधि तत्काल पठाउने तयारी समेत गरेको छु,’ झाले भने ।
EKANTIPUR