कैलालीको मालाखेती जंगलमा मंगलबार दिउँसो हतियारधारी समूहले नविल बैङ्कको दुई करोड ३० लाख ६० हजार रुपैंयाँ लुटेको छ ।
नविल बैङ्कको कञ्चनपुर शाखाबाट कैलालीको धनगढीमा रहेको नेपाल राष्ट्र बैङ्कमा जम्मा गर्न लगिएको २ करोड ३० लाख ६० हजार नेपाली रुपैयाँ र केही विदेशी मुद्रा हतियारधारी समूहले लुटेको हो । नेपाली रुपैयाँसँगै दुई सय अमेरिकी डलर, ५० यूरो, सात सय क्यानेडिन डलर, दुई सय तीन सुडानी रियाल र २५ कतारी रियाल लुटिएको प्रहरीले जनाएको छ ।
कैलालीको अत्तरिया बजारमा ट्राफिक प्रहरीको भेषमा रहेका लुटेराहरुले रकम बोकेको बैङ्कको गाडी नियन्त्रणमा लिएर जंगलमा पुर्याइ लुटेका हुन् । म १ च १४६ नम्बरको महिन्द्रा जिप, जीपमा सवार चालक सहितका ४ जनालाई पेस्तोल देखाएर नियन्त्रणमा लिइ ५/६ जनाको हतियारधारी समूहले जीपमा राखेको रकम लुटेर मोटरसाइकलमा भागेका प्रहरीले जनाएको छ ।
कञ्चनपुरबाट छुटेको करिब १ घण्टापछि रकम लिएको गाडी लुटपाटमा परेको थियो । पूर्वपश्चिम राजमार्गमा कैलालीको अत्तरिया बजार पुग्नेवित्तिकै ट्राफिक प्रहरीको भेषमा रहेका २ जनाले चालकसँग लाइसेन्स चेक गर्ने बाहनामा गाडी रोकेका थिए ।
त्यसपछि जबर्जस्ती गाडीमा प्रवेश गरेका ५ जनाले चालक र कर्मचारीलाई पेस्तोल देखाएर तर्साइ गाडीलाई राजमार्गदेखि दक्षिणतर्फ जंगलमा लगेका थिए । जंगलमा गाडी चालक दिलबहादुर चन्द, बैङ्कका लेखा परीक्षक शुक्रराज भट्टराई सुरक्षा गार्ड गंगादत्त भट्ट र सत्यमान तामाङको हात डोरीले बाँधेर आँखा र टाउको समेत छोपिदिएका थिए ।
त्यसपछि उनीहरु रकम भएको बाकस लिएर मोटरसाइकलमा भागेका कर्मचारीहरुले बताएका छन् । सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी नारायणप्रसाद वस्ताकोटीले बैङ्कको चरम लापरबाहीका कारण रकम लुटिएको दावी गर्नुभयो ।