केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले नविल बैंक शाखा महेन्द्रनगरको रु दुई करोड ३० लाख ६० हजार लुटपाटको अनुसन्धानको कार्य सुरु गरेको छ ।
प्रहरी निरीक्षकको नेतृत्वमा रहेको सिआइबीको टोलीले कैलाली र कञ्चनपुरमा अनुसन्धानको कार्य सुरु गरेको हो । सिआइबीको टोलीले बैंकका महेन्द्रनगर शाखाका कर्मचारीलाई सोधपुछ गरी अनुसन्धानको कार्यलाई अगाडि बढाएको छ ।
रकम लुटपाट भएको लामो समय बिते पनि लुटेराहरुको पत्तो लाग्न नसकेपछि प्रहरी प्रधान कार्यालयले सिआइबीको टोलीलाई अनुसन्धानका लागि यहाँ खटाएको बताइएको छ ।
टोलीले गहनरुपमा अनुसन्धानको कार्यलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।
एक साताअघि बैँकको महेन्द्रनगर शाखाबाट कैलालीको धनगढीमा रहेको नेपाल राष्ट्र बैंकमा रकम जम्मा गर्न लग्दै गरेका बेला नकावधारी ट्राफिक प्रहरीको भेषमा रहेका हतियारधारी लुटेराहरुले कैलाली कञ्चनपुरको सीमावर्ती क्षेत्र मालाखेतीको चौकीडाँडाबाट रकम लुटपाट गरेका थिए ।
प्रहरीले बैंकको रकम लुटपाट भएलगत्तै खोजतलासको कार्यलाई व्यापक बनाए पनि रकम र लुटेराहरुलाई हालसम्म फेला पार्न सकेको छैन ।
रकम लुटपाटलगत्तै सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक रमेश पण्डितको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो । रासस