नेपाल प्रवेश गर्न भिसा लिन चाहनेले अब अनलाइनमार्फत आवेदन दिन पाउने

काठमाडौं – नेपाल प्रवेश गर्न भिसा लिन चाहनेले अब अनलाइनमार्फत आवेदन दिन पाउने भएका छन्। अध्यागमन विभागले सोमबारबाट यस्तो व्यवस्था सुरु गरेको छ।
वातावरणमैत्री सेवा र कागज खपत कम गर्ने उद्देश्यले अनलाइनबाट भिसा आवेदन दिन पाइने व्यवस्था सुरु गरिएको विभागले जनाएको छ।विभागका अनुसार नेपाल भ्रमण गर्न र बसोबास गर्न चाहने विदेशी नागरिकले ‘अनलाइन डट नेपाल इमिग्रेसन डट जिओभी डट एनपी’ वा ‘नेपाल इमिग्रेसन डट जिओभी डट एनपी’ लगइन गरी जतिबेला पनि भिसा आवेदन दिन सक्नेछन्। 
यसरी आवदेन दिएपछि १५ दिनसम्म सिस्टममा सुरक्षित रहने तथा नेपाल प्रवेश वा भिसा अवधि थप गर्नुअघि अनलाइनमार्फत यस्तो आवेदन देखाउन सकिने विभागले जनाएको छ। सुरुवातमा काठमाडौंस्थित विभागको कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा यस्तो सुविधा उपलब्ध गराइएको छ। कुटनीतिक र सरकारी भिसा आवेदन भने परराष्ट्र मन्त्रालयको वेबसाइटमार्फत दिन सकिने विभागले जनाएको छ।
RSS