बुटवलका बासिन्दाहरु रेलमार्ग निर्माण हुने भन्दै आतंकित, आन्दोलित

भगवती पाण्डे
पछिल्ला केहि दिनयता बुटवलमा रेलमार्ग निर्माण हुने भन्ने समाचारले निकै चर्चा पाउने गरेको छ। 
 
संचारमाध्यममा दैनिक जसो रेलमार्गको विषयमा आउने गरेका समाचारसँगै बुटवल नगरपालिका वडा नं. १२ र १३ का बासिन्दाहरु आतंकित समेत बनेका छन्। 
 
बाक्लो बस्ती रहेको वडा नं. १२ र १३ को विच भएर पूर्व पश्चिम विद्युतिय रेलमार्ग निर्माण भए ठूलो मानव वस्ती विस्थापित विस्थापित हुने भन्दै उनिहरु आन्दोलित भएका छन्।
 
स्थानीयवासीले लामो समयदेखि मानवबस्ती रहेको स्थानबाट रेलमार्ग संचालन गरिए हज्जारौं सर्वसाधारण विस्थापित हुने भन्दै कम भन्दा कम मानव वस्ती क्षति हुने गरी वैकल्पिक स्थानबाट रेलमार्ग निर्माण गर्न आग्रह गर्दै विभिन्न निकायमा डेलिगेसन समेत गएका छन्। 
 
स्थानीयले विष्णुप्रसाद चापागाईको नेतृत्वमा संघर्ष समिति समेत गठन गरी आन्दोलनमा समेत उत्रिएका छन्। 
 
उनीहरुले रेलमार्ग परियोजनाको लागि स्थानीयस्तरमा अध्ययन गरि डिपीआर तयार गरेर प्रतिवेदन बुझाईसक्दा पनि बुटवल नगरपालिकाले आफूहरुलाई जानकारी नदिएको भन्दै बुटवल नगरपालिकामा धर्ना समेत दिएका छन्। 
 
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको स्वीकृतिमा निर्माण हुने रेलमार्गको सम्भावित रुट मानिएको बुटवल १२ र १३ का बासिन्दा रेलमार्गले आफूहरुको करौडौको घर जग्गा कव्जा गर्ने चिन्ताले सबैभन्दा बढी आतंकीत बनेका छन् ।  
 
उनिहरुले बिरोध स्वरुप यस क्षेत्रका सभासदहरु, जिल्ला प्रशासन, जिल्ला विकास समिती, जिल्ला नापी कार्यालय, रेल्वे विभाग बत्तिस पुतली काठमाण्डौ, कोरियन प्रोजेक्ट सिनामंगल काठमाण्डौ, यातायात मन्त्रालयमा तथा स्थानिय सबै राजनितिक दलहरुलाई समेत ज्ञापन पत्र बुझाएका छन्। 
 
रेलमार्ग निर्माणको कार्य अघि बढ्दा पनि बुटवल नगरपालिकाले कसैलाई जानकारी नगराई सूचना पाउने अधिकारबाट बञ्चित गराएको उनिहरुको गुनासो छ। 
 
संघर्ष समितीले गरेको यो बिरोधलाई भने बुटवलबासिको बिकास बिरोधी चरित्र भन्दै कतिपयले आलोचना समेत गरेका छन्। यस अघि बुटवलमा ६ लेन सडक निर्माणमा समेत अवरोध गर्ने प्रयत्न भएको थियो। 
 
प्रस्तावित रेलमार्गबाट वडा नं. १२ र १३ मा रहेका करिब ७ हजार बढि घरधुरी विस्थापित हुन भन्दै रेलमार्ग निमार्ण कार्य स्थगीत नगरिए अदालत जाने समेत बताएका छन्। 
 
भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले करिव २ बर्ष अघि रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको पुष्टि गर्दै अहिले त्यसकै आधारमा सर्भे गर्ने काम भैरेहको बताए।