नातिबाबु भट्ट
कोलोराडो, अमेरिका,अप्रिल १३ । नयाँ बर्ष २०७१ को अवसरमा अमेरिकाको कोलोराडो निवासी नेपालीहरुले बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था नेपालीघर र रक्की माउण्टेन्स फ्रेन्ड्स अफ नेपालले शनिवार संयूक्तरुपमा आयोजना गरेको शुभकामना साँझमा सहभागीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका हुन् ।
अध्यक्षद्वय नारायण श्रेष्ठ र शरद आचार्यले पानसमा बत्ती बाली उद्घाटन गरेको कार्यक्रममा झण्डै ५ सय भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल र नेपाली संस्कृतिप्रति माया र सद्भाव राख्ने अमेरिकीहरु पनि सहभागी भएका देखिन्थे ।नेपाली राष्ट्रियगान गाएर सुरु गरिएको शुभकामना साँझमा अधिकांश मनोरन्जन दिने खालका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालीको रहन सहन , भेषभूषा झल्कने नेवारी नृत्य, तामाङ्ग सेलो, कौडा नाच, धिमाल नाच, तथा लोक नृत्य, आधुनिक र देश भक्तिका गीतमा कलाकार भाईबहिनीहरुले कम्बर मर्काईमर्काई नेपाली शैलीमा नाचेको हेरिरहँदा आफुलाई नेपाली घर आँगनमै भएको महसुस हुन्थ्यो ।
अध्यक्षद्वयले कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिदैं, नेपाली सस्ंकृति बचाई राख्न तथा नेपालको पहिचान गराउन कार्यक्रम आयोजना गरिएको बताएका थिए । गत बर्षसम्म दुबै संस्थाले नयाँ बर्षको कार्यक्रम आयोजना छुट्टाछुट्टै रुपमा गर्ने गरेका थिए । बिदेशमा बसेका नेपालीहरुको हक हितको लागि तोडिएर होईन जोडिएर, एक्लाएक्लै हैन संगै हिंडेमात्र लक्ष्यमा पुग्न सकिन्छ भन्ने दुबै संस्थाले महशुस गरी केही समय अघिदेखि यस्ता कार्यक्रमहरु संयुक्त रुपमा आयोजना गर्न थालेका हुन् । नयाँ बर्षको यो सांस्कृतिक कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न दुबै संस्थाका तीन, तीन जना सदस्य रहने गरि गठन गरिएको एक कल्चर कमिटीको सकृयतामा कार्यक्रम सम्पन्न भएको हो ।



