आर्थिक वर्ष २०१२/१३ मा वैदेशिक सहायता प्रवाह परिचालको अवस्था स्थीर

काठमाडौं, वैशाख ९ । आर्थिक वर्ष २०१२/१३ मा वैदेशिक सहायता प्रवाह परिचालको अवस्था स्थीर रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०१२/१३ को विकास सहायता प्रतिवेदनमा ९५ अर्ब रुपैयाँ बराबर सहयोग प्राप्त भएकोमा ४० अर्ब बराबर रुपैयाँ परिचालन भएको जनाएको हो ।


अघिल्लो वर्षको तुलनामा यस अवधिमा सहायता प्रवाहमा केही कमी आएको मन्त्रालयले जनाएको छ । यस अवधिमा विकास साझेदारबाट ९६ करोड डलर बराबरको सहायता प्राप्त भएको जनाइएको छ ।


यस अवधिमा बहुपक्षीय विकास साझेदार मध्ये विश्व बैंक समूहले सबैभन्दा बढी २३ करोड १४ लाख डलर बराबर सहयोग गरेको छ । त्यसपछि क्रमशः एसियाली विकास बैंक, संयुक्त राष्ट्र समूह, ग्लोबल फण्ड र युरोपेली युनियन रहेका छन् । द्धिपक्षीय साझेदार मध्ये सबैभन्दा बढी अमेरिकाले सहयोग गरेको अर्थ मन्त्रालयले जनाएको छ ।


यस अवधिमा प्राप्त सहयोग मध्ये शिक्षा क्षेत्रमा सबै भन्दा बढी १४ करोड १० लाख डलर प्राप्त गरेको छ । शिक्षा क्षेत्रपछि बढी सहयोग प्राप्त गर्ने क्षेत्रमा स्वास्थ्य, स्थानीय विकास, सडक र उर्जा रहेको मन्त्रालयले जनाएको छ ।


वैदेशिक सहायताको परिचालनमा पारदर्शीता अभिबृद्धि गराउने उद्देश्यले विकास सहायता प्रतिवेदन सार्वजनिक गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

 

– IMAGEKHABAR