राजविराजको अस्पतालमा सुत्केरीको मृत्युको घटनालाई लिएर तनावग्रस्त

राजविराज, वैशाख १७ – एक सुत्केरीको मृत्युको घटनालाई लिएर मंगलबार पनि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त रह्यो । नर्मल तरिकाले छोरी जन्माएकी सप्तरी तिलाठी ८ की २६ वषर्ीया प्रतीक्षा यादवको मृत्युपछि गत शुक्रबारदेखि अस्पतालमा तनाव व्याप्त छ । बहिरंग विभागको उपचार सेवा प्रभावित छ । चिकित्सककै लापरबाहीले मृत्यु भएको आफन्तले बताएका छन् । उनीहरूले घटनाको छानबिन र दोषीलाई कारबाही माग गर्दै अस्पताल परिसरमा प्रदर्शनसमेत गर्दैआएका छन् ।
व्यथा लागेपछि प्रतीक्षालाई बिहीबार १ बजे अस्पताल भर्ना गरिएको थियो । त्यही दिनको साँझ ६ बजे उनले छोरी जन्माएकी थिइन् । रक्तस्राव अत्यधिक हुन थालेपछि वरिष्ठ चिकित्सकहरूलाई पटकपटक बोलाउँदा पनि नआएको सुत्केरीका श्रीमान् दिनेश यादवले बताए । प्रतीक्षाको शुक्रबार राति १ बजे मृत्यु भएको हो । ‘भर्ना गरेपछि एक पटक पनि स्त्री रोग विशेषज्ञ हेर्न आएनन्,’ दिनेशले भने, ‘अस्पताल प्रमुख शैलेश झाले चिकित्सक पठाउँदैछु, तपाइर्ं नआत्तिनुस् भनेका थिए ।’
अस्पतालमा मेडिकल सुपरिडेन्टेन्ट डा. शैलेश झा, डा. दिपा यादव र डा. दिलीप साह गरी तीन जना स्त्री रोग विशेषज्ञ छन् । भर्ना भएलगतै प्रतीक्षालाई अहेव र अनमीको भरमा प्रसूति गराइएको थियो । ‘सुरक्षित किसिमले छोरी जन्माएपछि प्रसूतिमा संलग्न नर्सहरूले सबै ठीकठाक रहेकाले चिन्ता नगर्न भनेका थिए,’ दिनेशले थपे, ‘रक्तस्राव हुन थालेपछि सबै डाक्टरलाई हेर्न मैले आग्रह गरे पनि बेवास्ता गरियो ।’ अस्पताल प्रमुख झालाई एक पटक आफैं बिरामीको अवस्था हेरिदिन आग्रह गरेपनि कुनै वास्ता नै नगरेकेा उनले बताए । ‘सक्नु हुन्न भने रेफर गरिदिन पनि भनेका थिए, डाक्टरले सुनेनन्,’ दिनेशले भने, ‘मृत्यु भइसकेपछि सबैले बाहिर लानुस् भन्न थाले ।’
मृत्युको चार दिन भइसक्दा पनि चिकित्सकहरूले कारण अझै खुलाउन सकेको छैन । समस्याको पहिचान नहुनु र समयमा रेफर नगरिनु महिलाको मृत्युको कारण बनेको उक्त अस्पतालबाट सेवानिवृत्त एक चिकित्सकले बताए । अस्पताल प्रमुख डा. झाले डा. दिलीप साहको नेतृत्वमा रहेको अहेव, अनमिले प्रतीक्षाको उपचार गरेको दाबी गरे । उनले भने, ‘डा. दिलीपले केश हेन्डल गर्नुभएको हो, चिकित्सकले भ्याएसम्म उपचार गरेकै हो, केही सीप लागेन के गर्ने ?’
 EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख १७

अन्य समाचारहरु