नेपाली जनसम्पर्क समितिहरुको युरोप क्षेत्रीय सम्मेलन नेदरल्याण्डसमा

नेपाली जनसम्पर्क समन्वय समिति युरोप तथा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको संयुक्त आयोजनामा युरोप भरिका जनसम्पर्क समिति हरुको बृहत क्षेत्रीय सम्मेलन आगामी मे २७ का दिन नेदरल्याण्डको राजधानी आम्स्ट्रडाममा हुने भएको छ।
 
“जनसम्पर्क समिति युरोपको आब्हान -आर्थिक सम्वृद्धि, लोकतन्त्र र एकताको अभियान” भन्ने मूल नाराका साथ सुरु हुने उक्त सम्मेलन नेपाली काँग्रेसका केन्द्रिय बरिष्ठ नेताहरु मध्ये कोहि एकको प्रमुख आतिथ्यमा हुन लागेको हो। सम्मेलनमा युरोप भरिका सम्पूर्ण जनसम्पर्क समिति सहित विश्वभर बाट अत्यधिक प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ। सम्मेलनमा मुलत नेपाली जनसम्पर्क समिति युरोपको नीति तथा कार्यक्रम, समितिको बिधान लगायत आगामी अधिबेशनको बारेमा छलफल हुने बताइएको छ।



यतिखेर कार्यक्रम लाई सफल बनाउन विभिन्न तयारी समिति हरु निर्माण गरि तयारीलाई तिब्रता दिइएको छ। जसमध्ये नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसका संस्थापक अध्यक्ष तथा एनआरएन नेदरल्याण्डसका पूर्वअध्यक्ष नारायण प्रसाद आचार्य संयोजक रहेको सल्लाहकार समिति, जनसम्पर्क समन्वय समिति युरोपका अध्यक्ष दिल गुरुङ संयोजक रहेको भेला संयोजक समिति, जनसम्पर्क नेदरल्याण्डसका अध्यक्ष दिपक रेग्मी संयोजक रहेको राष्ट्रिय संयोजक समिति, नेपाल विकास प्रतिष्ठानका अध्यक्ष सशी पौडेल संयोजक रहेको एजेन्डा निर्माण तथा रणनीति समिति, नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसका सल्लाहकार हरि पौडेल संयोजक रहेको आर्थिक समिति, निरज बिस्ट संयोजक रहेको अफिस ब्याबस्थापन समिति, नेपाल तरुण दल नेदरल्याण्डसका अध्यक्ष बिष्णु बास्तोला संयोजक रहेको कार्यक्रम संचालन तथा आकस्मिक सेवा समिति, यसैगरी चन्द्र के.सी. संयोजक रहेको मिडिया ब्याबस्थापन समिति, डीजे हिमाल गुरुङ  संयोजक रहेको सास्कृतिक समिति र श्रीराम कंडेल संयोजक रहेको अथिति सत्कार तथा भिसा प्रबन्ध समिति गठन गरि तयारीलाई अगाडी बढाईएको छ।

सम्मेलन लाई सबैतिर बाट चासोको रुपमा हेरिएको छ। लामो समय पछि युरोपमा जनसम्पर्क समितिहरुको भेला एकै ठाउमा हुन लागेपछि यतिखेर युरोपमा रहने लोकतन्त्रप्रेमी हरुमा एक खालको उत्साह र उमङ्ग छाएको छ भने अर्को तर्फ जनसम्पर्क समन्वय समिति युरोपको बैधानिकता तथा अधिबेशन लाई लिएर सामाजिक संजालहरुमा विभिन्न टिका टिप्पणीहरु समेत शुरु भएका छन।


सम्मेलन बारे जानकारी दिदै जनसम्पर्क समिति नेदरल्यान्ड्सका अध्यक्ष दिपक रेग्मीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली लोकतन्त्रबादी हरुलाई एकैसुत्रमा बाध्नलाई सम्मेलन कोसेढुंगा साबित हुने बताउदै राष्ट्रियता,लोकतन्त्र र समाजबाद प्रति आस्था राख्नुहुने सम्पूर्ण युरोपबासि नेपाली दाजुभाई तथा दिदिबहिनि हरुलाई सम्मेलनमा उपस्थित हुन आग्रह गर्नु भएको छ।