बागलुङमा परेको असिनाले लगाएको लाखौंको तरकारी र फलफूल नष्ट

बागलुङ, जेष्ठ १५ – बिहीवार दिउसो परेको असिनाले यहाँका किसानले लगाएको लाखौंको तरकारी र फलफूल नष्ट भएको छ । गलकोट क्षेत्रका हटिया, काँडेवास, नरेठाँटी, दुदिलाभाटी लगायतका स्थानमा असिनाले लाखौं क्षति पुर्‍याएको हो । बेमौषमी तरकारी खेती गरेका किसानले बर्षभरीको लगानी नष्ट भएको गुनासो गरेका छन् ।
हटिया ३ का व्वसायिक किसान गुमानसिंह खत्रीले १० वटा टनेल सहित अन्दाजी २० रोपनी जमिनको तरकारी पूर्ण रुपमा नष्ट भएको बताए । त्यस्तै किसानले लगाएको मकै पनि नष्ट भएको छ । दुदिलाभाटीका सागर पुनको १३ रोपनी जमिनमा लगाएको तरकारीबाली पनि नष्ट भएको हो । गलकोट क्षेत्रका अधिकांस कृषि नर्सरीलाइ असिनाले पूर्ण रुपमा क्षति पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयले पनि जनाएको छ । क्षतिको यकिन तथ्यांकका लागि अध्ययन गरिने बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए ।
दिउसो एक बजेदेखि चारबजे सम्म परेको असिनाले केही घरका छानाका ढुंगा समेत फुटेको हटियाका बालकृष्ण शर्माले बताए । सुन्तला, लिचि लगायतका फलफूलका हाँगा समेत भाचिएको पनि उनले बताएका छन् । हटियामा रहेको गौदीखोला बढेर बजार र नजिकका जमिन जलमग्न हुनुको साथै बाढीले हटिया बजार समेत केही समय जोखिममा परेको उनले बताए ।
 EKANTIPUR
प्रकाशित मिति: २०७१ जेष्ठ १५