भोजपुर , जेष्ठ ३० – समयमा उपचार नपाएपछि भोजपुरको सानोदुङमा गाविसकी एक सुत्केरीको मृत्यु भएको छ । जिल्ला अस्पतालको सिफारिसमा विराटनगरतर्फ लैजाँदा शुक्रबार ब्हिान बाटैमा मृत्यु भएको हो ।
जिल्लाको सुदुरपूर्व सानोदुङमा गाविस-१ सुप्लाकी १८ वर्षीया सृजना परियारले बच्चा जन्माउन नसकेर ज्यान गुमाएकी हुन् । गाउँबाट अस्पताल ल्याइपुर्याउदा बच्चा पेटमै मरि सकेकोले गम्भिर प्रकृतिको शल्यक्रिया गर्नुपर्ने भएपछि अन्यत्र सिफारिस गरिएको जिल्ला अस्पतालका डा.राजन थापाले बताए ।
एम्बुलेन्सबाट कोशी अञ्चल अस्पताल विराटनगरतर्फ लैजाँदा भोजपुर-लेगुवा सडकको भैंसिपङ्खामा सुत्केरीको मृत्यु भएको हो । मृतकको पति रोशन परियारले शल्यक्रियाको लागि जोखिम सम्झौता पत्रमा हस्ताक्षर नगरेपछि चिकित्सकले समेत जोखिम नलिएको डा.राजन थापाले बताए ।
‘गम्भिर प्रकृतिको शल्यक्रिया गर्नुपथ्र्यो, सुत्केरी परिवारले जोखिम लिन मानेनन्,’ डा. थापाले कान्तिपुर सित भने -‘शल्यक्रियाको लागि परिवारले जोखिम लिन नमानेपछि अन्यत्र सिफारिस गर्यौं ।’
स्वास्थ्यकर्मीले जेठ २२ गते दिएको मितिमा बच्चा नजन्मिएपछि अलमलमा परेका परिवारले बेवास्ता गरेकाले समयमा अस्पताल पुर्याउन सकेनन् । तीन दिनअघि नै बेथा लागेपनि बच्चा जन्मिन नसकेपछि छरछिमेकीको सहयोगमा जिल्ला असपताल ल्याइएको थियो ।
आर्थिक अभावले समयमा अस्पताल ल्याउन नसकेपछि सुत्केरीको अवस्था गम्भिर हुन पुगेको अस्पतालकी महिला स्वास्थ्यकर्मी मिना श्रेष्ठले बताइन् । भोजपुरमा शल्यक्रिया गर्न रक्तसंचारको अभाव छ । आर्थिक अभाव भएपछि सदरमुकामसित कैलाश आलेको सक्रियतामा केही रकम संकलन गरी विराटनगर पठाउन लागिएको थियो ।
‘बिरामीको हेमोग्लोविन, न्युन रक्तचाप भएकाले जोखिम लिन सकेनौं,’ डा. थापाले भने -‘उनलाई बचाउन आइसियुमा राख्नुपथ्र्यो ।’ भोजपुरमा आइसियु सेवा छैन ।
जिल्ला अस्पताललाई सुविधायुक्त, गुणस्तरीय बनाउनका लागि ५० शैयासहित दक्ष चिकित्सक र आधुनिक स्वास्थ्य उपकरणको व्यवस्था गर्न माग गरेपनि सरकारले बेवास्ता गरेको छ । सरकारी बेवास्ताले गर्दा भोजपुरबासीले गुणस्तरीय स्वास्थ्य उपचार सेवा नपाएको गुनासो गरेका छन् । EKANTIPUR