ठूलो सपना बोकेर अमेरिका आएका युवाहरुले सपना पुरा नभएपछि बिभिन्न रुपबाट आत्महत्या गर्ने क्रम बढेको छ। यसैक्रममा शनिबार न्यूयोर्कमा एक नेपाली युवाले घरको तेस्रो तल्लाबाट फाल हालेर आत्महत्या गरेका छन् भने पश्चिमी राज्य क्यालिफोर्नियाको सानफ्रान्सिस्कोको पुलबाट समुद्रमा हामफालेर अर्का नेपालीले जीवन समाप्त गरेका छन्।
दुई बर्षअघि लाखौं रुपैयाँ दलाललाई बुझाउँदै अमेरिका प्रवेश गरेका दाङ तुलसीपुरका मोहन वलीले शनिबार न्यूयोर्कमा आफु बसेको अपार्टमेन्टबाट फाल हालेर आत्महत्या गरेका हुन्। दलाललाई लाखौं रुपैयाँ बुझाएर दक्षिण अमेरिकी मुलुकदेखि मेक्सिको हुँदै उनी दुई वर्ष अघि अमेरिका आइपुगेका थिए।
आफुलाई केही महिनादेखि आश्रय दिएर बसेकी नेपाली महिला इन्दिरा घर्तीमगरकै अपार्टमेन्टबाट उनी आत्महत्या गरेका थिए। डिप्रेसनका विरामी उनलाई साथीहरुले टेक्सासबाट न्यूयोर्क पुर्याएर अस्पतालमा अलपत्र छाडेका थिए।
नेपालमा उनको पत्नी र एक छोरी रहेको बताइएको छ। ‘घटना साह्रै दुखद भयो, हामी उनको परिवारसँग सम्पर्क गर्ने प्रयासमा छौं,’ नेपाली समाजका अध्यक्ष मोहन ज्ञवालीले भने।
दुई साता अघिमात्र अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा अर्का एक नेपाली युवाले समुद्र माथिको पुलबाट हामफालेर आत्महत्या गरेका थिए।
सानफ्रान्सिस्कोस्थित गोल्डेनगेट पुलबाट फाल हालेर काठमाडौंका क्षितिज श्रेष्ठले आत्महत्या गरेका थिए। टेक्ससमा बस्दै आएका श्रेष्ठ सानफ्रान्सिस्को विमानस्थल ओर्लेर सिधै उक्त पुलमा पुगेर फाल हालेका थिए। उनको शव एकसातापछिमात्र ३० माइल टाढा कन्ट्रीकोस्टा भन्ने ठाउँमा फेला परेको थियो।
प्रशान्त महासागरमाथि बनेको गोल्डेनगेट पुल क्यालिफोर्नियाको प्रमुख आकर्षण हो। यो पुल हेर्न बर्षेनी लाखौं विदेशी पर्यटक समेत आउँछन्।
समुद्रमा हामफाल्नुअघि उनले पुलमा छाडेको झोला र त्यसभित्र रहेको पासपोर्ट, ल्यापटपका आधारमा सनाखत भएको थियो।
SETOPATI