आश्रय स्थलको माग गर्दै दूतावासमा ज्ञापनपत्र

जीबी लामा र सालीकराम आचार्यको सहयोगमा 
मस्कट, ओमान-ओमानमा क्रियाशील पाँचवटा सामाजिक संघसंस्थाहरुले बिभिन्न समस्याका कारण प्रवासमा अलपत्र परेका कामदारहरुलाई तत्काल सुविधा हुनेगरी एक आश्रय गृहको माग सहित गत शुकवार नेपाली दूतावाससमक्ष ज्ञापन पत्र बुझाएका छन । 
गत जून महिनामा नेपाली राजदूतावास स्थापनाको ६ महिना अवधि पूरा भएको अवसरमा ९ वटा संघसंस्थाहरु सहितको अन्तरक्रिया कार्यक्रममा तात्कालिन कार्यबाहक राजदूत झबिन्द्र अर्याल समक्षनै सो बूँदा सहित अन्य मागहरुको जानकारी गरिएको तर हालसम्म पनि सो मागहरुको कुनै कार्यान्वयन हुन नसकेको र बैदेशिक रोजगारको शिलशिलामा नेपालीहरु ओमान आउने बढ्दो क्रमसंगै बिविध समस्याका कारणहरुले कामदारहरु अलपत्र हुने क्रम पनि बृद्धि भएको हुनाले यी पाँचवटा संघसंस्थाहरुको सामूहिक छलफल पश्चात आश्रय स्थलको माग अति आवश्यक देखिएको हुनाले सो मागको बारे तत्काल कार्यन्वयन गर्न गराउनको सो ज्ञापन पत्र पेश गरिएको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै हालैमात्र नेपाल सरकारद्वारा कार्यबाहक राजदूतमा नियुक्त भई ओमान आईपुग्नु भएका का बा राजदूत भरत प्रसाद रेग्मीले यो माग अति नै जरुरी रहेको अन्य खाडी मुलुकहरुमा यसको ब्यवस्था पनि रहेको बताउदै ओमानको बारेमा पनि यस सम्बन्धमा सरकारलाई पहिले नै जानकारी भै सकेको तर यस कार्यकालागि सरकारबाट तत्काल बजेट छुट्याउन नसक्दा काम हुन नसकेको र पुनः हामीले सरकारसामु यस बिषयमा जोडदारपूर्वक पहल गर्ने र संभवत आगामी आर्थिक वर्षको बजेट निकासासँगै यस कार्य पूरा हुने बिस्वास दिलाउनु भयो । तत्कालका लागि समस्यामा परेकाहरुलाई बैकल्पिक ब्यवस्था गर्न सकिने र हाल सम्म यसका लागि सहयोग गरिरहेका सबैलाई धन्यवाद दिनु भयो ।
यसका साथै संस्थाका प्रतिनिधिहरुको अन्य जिज्ञासाको जवाफ दिने क्रममा उहाँले दूतावासको पहिलो प्राथमिकता प्रवासी नेपालीको हित नै रहेको र सम्भव भएसम्म बिदाको दिन पनि सेवा दिन तयार रहेको साथै नेपाल सरकारले खाडी मुलुकहरुमा नेपाली दूतावास रियादमा भएको सबै सेवा तथा शर्तहरु लागू हुने निर्णय गरिएको र यहाँ मस्कटको कार्यतालिका अलि फरक भएकोले नेपाली राजदूतावासको दैनिक कार्य तालिकालाई बढाई आगामी जनवरी महिनादेखि लागू हुनेगरि बिहान आठ बजेदेखि दिउँसो तिन बजेसम्म गराउने प्रयासमा रहेको कुरा बताउनु भयो । यति बेला मेशिन रिडेबल पासपोर्ट ९एम आर पी० प्राथमिक समस्या र चासोको बिषयको रुपमा सरकारले लिएको र अझै पनि करीब पन्ध्र लाख प्रवासी नेपालीहरु हस्त लिखित राहदानी नै प्रयोग गरिरहेको र ओमानमा पनि यो समस्या रहेको हुनाले नेपाल सरकार परराष्ट्र मन्त्रालयको टोली र यहाँका दूतावासको कर्मचारी सहितको केहि टोलीहरु पठाई ओमानको मस्कट लगाएत अन्य बिभिन्न भागमा पनि राहदानी सेवा सञ्चालन गरिने समेत बताउनु भयो । आगामी दिनहरुमा संघसंस्थाहरुको साथ र समर्थन अनिवार्य रहेको र हामी सरकारी वा अन्य जुनसुकै निकायबाट भएपनि सर्वप्रथम हाम्रो सेवा नेपाल र नेपालीको लागि हुनुपर्ने र तपाईहरुलाई दूतावास जति खाँचो छ उति नै यहाँहरुको पनि खाँचो रहने कुरा औल्याउनु भयो ।
यसअघि अमेरिका, चीन र दक्षिण अफ्रिका जस्ता मुलुकका कूटनीतिक नियोगहरुमा काम गरी सक्नु भएका का बा राजदूत रेग्मीले हामीले यहाँ गम्भीर रूपमा लिनु पर्ने अर्को पाटो भनेको ओमान सरकारसंगको सम्बन्ध रहेको बताउदै यहाँको सरकारसंग सम्बन्ध राम्रो नभए हामीले रोजगारी नै उपलब्ध हुन नसक्ने भएको हुनाले यहाँका सरकारी नियोग, परराष्ट्र मन्त्रालय तथा अन्य देशका कूटनीतिक नियोगहरूसंग पनि नियमित सम्पर्क लगायतका कार्यमा पनि जोड दिईरहेको जनाउनु भयो ।
ज्ञापन पत्र नेपाली समाज ओमान, ओमान नेपाली एकता समाज, नेपाली महिला समूह ओमान, प्रवासी नेपाली मञ्च ओमान तथा तामाङ् समाज ओमानका अध्यक्ष तथा प्रतिनिधि मण्डलहरुको करीब पन्ध्र जनाको समूहले संयुक्त रूपमा पेश गरिएको थियो भने ति सबै संस्थाको प्रतिनिधिहरुको हस्ताक्षर रहेको थियो । सो अवसरमा निबर्तमान का बा राजदूत कृष्ण कुमार सुवेदी, श्रम सहचारी भवनाथ खतिवडा, सहचारी लाल बहादुर अर्याल लगाएत दूतावासका अन्य कर्मचारीहरुको पनि उपास्थिति रहेको थियो ।