काठमाडौं – नेवाः पत्रकार तथा संचारकर्मीहरुको हकहित, स्वास्थ्य तथा समग्र पेशागत उत्थान उद्देश्यले नेवाः पत्रकार संचार सहयोग कोषको स्थापना गरिएको छ । आज काठमाडौंमा गरिएको पत्रकार/संचारकर्मीहरुको भेलामा अष्ट्रेलियामा बस्दै आएका गंगाबहादुर नेम्कुलले कोष स्थापनार्थ नगद पाँच हजार पाँच सय ५५ रुपैंयाको प्रारम्भिक कोष नेवाः पत्रकार राष्ट्रिय दबूया केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनलाई हस्तान्तरण गरिएको हो ।
विदेशमा रहनुहुने नेपालीले संचार, पत्रकार तथा संचारकर्मीहरुको कोषमा सहयोग जुटाउने वातावरण बनाइएको संयोजक नेम्कुलले जानकारी गराउनु भयो । नेम्कुलको संयोजकत्वमा विभिन्न संचारगृहमा आबद्ध पत्रकारहरु सम्मिलितको ९ सदस्यीय तयारी समिति पनि बनाइएको छ ।
समितिमा भक्तपुरबाट केके मानन्धर, ललितपुरबाट सुनिल महर्जन, काठमाडौंबाट उदेन न्हूसायमि, नातिकाजी महर्जन, सुगतरत्न सिन्दुराकार, शिला सायमि, नवीन जोशी तथा रेणुका बज्राचार्य छन् । त्यस्तै सल्लाहकारमा श्रीकृष्ण महर्जन सर्वसम्मत नियुक्त भएका छन् ।