सिमसार दिवश र चराको स्वर्ग जगदिशपुर जलाशय

– कृष्णप्रसाद भुसाल
सन्दर्भ: – विश्व सिमसार दिवश फेबु्रअरी २, २०१५
कपिलवस्तु जिल्ला निग्लिहवा गा.वि.स.स्थीत जगदीशपुर जलाशय अन्तराष्ट्रिय महत्वको सिमसार क्षेत्र हो । २२५ हेक्टर क्षत्रेफल ओगटेको यो ताल सन् १९७० को दशकको सुरुतीर सिंचाइ प्रयोजनको लागि जखीरा ताल र यस आसपासका कृषि भुमीमाथी बनाइएको थियो । सन् २००३ सेप्टेम्बर मा रामसार सुचीमा सुचीकृत मानव निर्मित जगदिशपुर जलाशयको रामसार क्षेत्र कोड नं.१३१५ छ । जगदिशपुर ताल हजारौ घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, कीराहरु र बोट विरुवाको लागि महत्वपूर्ण वासस्थान हो भने स्थानिय जनसमुदायको लागि जीवनयापनको आधार पनि । नेपाल सरकार सिंचाई विभागको स्वामित्वमा रहेको जगदीशपुर जलाशय खेतीयोग्य जमिन, सामुदायिक वन र केहि स-साना पोखरीहरु लगायत नहर संरचनाले वरीपरीबाट घेरीएकोे छ । कपीलवस्तु जिल्लाका ११ गा.वि.स. र एक नगरपालिकाको कुल ६२०० हेक्टर खेतीयोग्य जमिन सिंचीत गर्न पानी आपूर्ति यस ताल बाट हुने गर्दछ । बाणगंगा नदीको पानी फर्काईएबाट यसले बाढी कम गर्न र तालको पिंधको पानीले वरीपरीका कृषि जमिनको भूमिगत पानीको श्रोतलाई पुनरोत्पादन गर्दछ । जैवीक विविधताको संरक्षण, पर्यटनप्रवद्र्धन, मनोरञ्जन, आर्थिक, सास्कृतिक, धार्मिक तथा पर्यावरणीय दृष्ट्रिकोणले समेत यस ताललाई महत्वपुर्ण मानीन्छ । 
आयाताकार यस तालको पूर्वी भाग छिपछिपे पानीयुक्त छ र पश्चिम पट्टीको भाग गहिरो एवम पुरै पानीले भरिएको छ । तालको गहिराई बर्षा र हिउँद यामको खेती गर्ने समयमा फरक-फरक २ देखी ७ मीटरसम्म हुने गर्दछ । चुरे क्षेत्रको जलाधारबाट आउने बाणगंगा नदीको लक्ष्मणघाट बाँधबाट ४.७५ कि.मी. लामो नहर हुँदै तालमा पानी आपूर्ति हुन्छ । जलाशयको उत्तरी भागमा दलदले घाँसे मैदान फैलिएको छ भने बाँध क्षेत्र सिसौका रुखहरुले ढाकेको छ । यहाँ १२ परीवारका २५ प्रजाती माछाहरु, ८ प्रजातीका उभयचर र ३८ प्रजातीका सरीसृपको अभिलेख गरीएको छ । यस तालले १५० प्रजातीका चराहरुको आवतजावतलाई मध्यवर्ती क्षेत्रको काम गरेको छ भने यो ताल नेपालमा रहेका २७ वटा चराका लागी महत्वपूर्ण क्षेत्रहरु मध्ये एउटा हो । विश्वमा नै दुर्लभ मानिएका आठ प्रजातीका चराहरु पनी यहाँ देख्न पाईन्छ । यस क्षेत्रले १० प्रजातीका स्तनधारी जनावरहरुको वासस्थानलाई सघाउ पु-याएको छ । यसका अलावा कछुवा र थुप्रै शंखेकिराका प्रजातीहरु पनि यहा पाईन्छन । 
जगदिशपुर जलाशय हिउदे आगन्तुक चराहरुको स्वगिर्य आश्रयस्थल हो । खाँसगरी उत्तरी धुर्वमा हिमपातको सुरुवातसँगै अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजिमा वर्षेनी हजारौ चराहरु उत्तरी मुलुकहरु रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलीयाका साथै युरोप, कोरीया तथा तिब्बती क्षेत्रहरुबाट यहा आउने गर्दछन । यि हिउदे पर्यटक चराहरु यस क्षेत्रमा आउने क्रम भदौ मध्य देखी पौष मध्यसम्म जारी रहन्छ भने चैत सम्ममा प्रायःजसो आफ्नो थाई बसोबासमा फर्कि सकेका हुन्छन । यसरी जाडो याममा यहा बसाई सरी आउने चराहरुको अधिकांस हिस्सा हाँस प्रजातिले ओगटछन । यि आगन्तुक चराहरु केही बिच बिचमा बास बस्दै र केही सिधै उडेर हजारौ माइलको यात्रा अनेकौ जोखिमहरु पार गर्दै यस क्षेत्रमा आउने गर्दछन । ई.स. १९८७ देखि वर्षनी नियमीत रुपमा गरीदै आईएको सिमसारमा आश्रित चराहरुको गणनाका पछिल्ला वर्षहरुको अध्ययनमा यस क्षेत्रमा हिउदे आगन्तुक तथा अन्य पानी चराहरुको संख्यामा वृद्धि भएको देखीएको छ ।
 जनवरी महिनामा स्वयमसेवी पंछि अवलोकनकर्ता, स्थानीय बासिन्दा र संरक्षण संघ सस्थाले संयुक्त रुपमा गर्ने उक्त गणनामा यसपाली करीव १७ हजार पानी चरा गणना गरीएको थियो । विभिन्न सिमसार क्षेत्रको सुचक रुपमा हेरीने यि आगन्तुक चराहरुको संख्यामा आएको वृद्धिले यस तालमा व्यवसायिक माछापालनमा रोक लगाईएपछि तालको सुधारोन्मुख बातावरणीय संन्तुलनलाई जनाउछ ।
यि सिमसार क्षेत्रको संरक्षण र दिगो उपयोगकालागि रामसार सन्धिको ४४ वर्षे यात्रामा यो वर्षको फेब्रुअरी २ मा सिमसार हाम्रो भविष्य भन्ने मुल नाराका साथ बिश्वव्यापिरुपमा सिमसार दिवश मनाईरहिएको छ । सिमसारको विशिष्ट महत्व र उपयोगितालाई ध्यानमा राखी सन् १९७१ फेबु्रअरी २ मा इरानको रामसार शहरमा विश्व सिमसार सम्मेलनको आयोजना गरीएको थियो । १५६ मुलुकका प्रतिनिधिहरु सहभागि रहेको सो सम्मेलनमा विश्वका महत्वपूर्ण सिमसारको संरक्षण तथा व्यवस्थापनमा जोड दिनुपर्ने अभिसन्धि पारीत गरीएको थियो जसलाई रामसार सन्धि भनिन्छ । नेपालले सन् १९८७ मा उक्त महासन्धिमा हस्ताक्षर गरेको थियो । यसै सन्र्दभमा सन् १९८५ फेबु्रअरी २ तारिख देखि विश्व सिमसार दिवश मनाउन सुरु गरीयो तर नेपालमा भने सन् १९९१ बाट मात्र यो दिवश मनाउन थालिएको हो । तर विडम्वना आज नेपालका सिमसार क्षेत्रहरु दिनानु दिन विनासीदै छन भने अर्कातीर यिनको सही सदुपयोग हुन सकेको छैन । बढदो वन फँडानी, प्राकुतिक स्रोतको अतिक्रमण सँगै  अनियन्त्रित प्रयोग, कृषि उत्पादनमा किटनाशक विषादिको प्रयोग र जलक्षेत्रको अव्यवस्थीत तथा अत्याधिक उपयोगका कारण सिमसारहरु नाशिदै गएका छन । सिमसार क्षेत्रहरु प्रायस अतिक्रमण भई कतै खेत र कतै घडेरीमा परिणत भएका छन भने कतै माछा पोखरीमा सीमित छन । वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र वीषादी बगी सिमसारमा मिसिनाले र ढल तथा धार्मिक पर्वहरुमा पुजाका सामान विसर्जन गर्नाले पनि सिमसारहरु प्रदूषित भईरहेका छन । बाह्य तथा मिचाह प्रजातिहरु जलकुम्भी, कुम्भीका, जलजम्भु, बेशरम, करौते, लहरे वनमारा आदि वनस्पतिहरुको संक्रमणले सिमसारहरु गम्भीर संकटमा परेका छन । बाह्य प्रजातिका माछा छाडिनाले पनि स्थानिय माछा विस्थापित भएका छन । भु-क्षय र वरपरबाट बगेर आउने भलसँगै ढुंगा, बालुवा, पांगोमाटो थुप्रिनुका साथै बाढी, पहिरो र हिमतालहरु फुटने खतराले पनि सिमसारहरु नष्ट हुने अवस्थामा छन । 
तालको पानीको अनियन्त्रित प्रयोग, माटो वा बालुवा थुप्रिन, अत्याधिक प्राङगारिक पदार्थ, प्रदुषण र विषादीका कारण तालले खतरा झेलिरहेको छ । ताल क्षेत्रमा पाइएका १४ प्रजातीका मिचाह वनस्पतीले सीमसारको पारिस्थितीक प्रणालीमा नकारात्मक असर पारिरहेको छ । कोसी र चितवनमा प्रमुख समस्याको रुपमा देखापरेको लहरे वनमारा पनि यहा पहिलोचोटि देखा परेको छ भने रैथाने जलिय वनस्पति खासगरी कमलको अत्याधिक वृद्धिले ताललाई उच्चपोषि वनाएको छ । सिमसार क्षेत्रमा पाइने जलपछीहरुको सिकार पनि ठुलो समस्याको रुपमा देखा परेको छ । कृषिजन्य रसायनहरुले हुने जलप्रदुषणले तालको सन्तुलन र स्वास्थ्यमा असर गरिरहेको छ । समय समयमा तालको पानी सुकाउने र आफ्नो अनुकुलताका लागि पानी प्रयोग गर्नाले तालको जैविक महत्वमा ह्रास आईरहेको छ । वरपरबाट बगेर आउँने भलसँगै ढुंगा, बालुवा र पांगो माटो थुप्रियर तालको गहिराई घटदो छ । 
कपिलवस्तु सदरमुका तौलिहवाबाट १० कि.मी मात्र उत्तर र बुटवलबाट ३८ कि.मी पश्चिममा परेपनि यो क्षेत्र उपेक्षित छ । तालको भौतिक संरचना जिर्ण वन्दै गहिरहेकोले संरचना सुधार गर्न आवश्यक छ । सिमसार क्षेत्र र यसमा आश्रित वन्यजन्तुहरुको महत्वका वारेमा स्थानिय समुदायलाई जानकारी र जनचेतना अभिवृद्धि गराउनु जरुरी छ । यस सिमसार संरक्षण र दिगो उपयोगमा रैथाने समुदाय, महिला, युवा तथा विद्यार्थीहरुलाई परिचालन गर्नुका साथै स्थानिय समुदायलाई वैकल्पिक आयआर्जन तर्फ उन्मुख गराउनु पर्दछ । ताललाई कुरुप बनाएका पुराना चुहिने डुङ्गाहरुलाई व्यवस्थीत र सुरक्षित वनाउनु पर्दछ ।
 तालको वरिपरी हरित पेटी वृक्षरोपण र पानीको सतह कायम गर्न बाँध र बाँधको ढोका मर्मत संभार गरीनुपर्दछ । नेपाल आउने पर्यटकको चौथो मुख्य गन्तव्य लुम्विनीको चक्रपथमा पर्ने भएकोले उचित व्यवस्थापन र प्रचार प्रसार गर्न सके एक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । तालको वाहिरपट्टि पिकनिक क्षेत्र वनाई आन्तरिक पर्यटकहरुलाई आर्कषण गर्न सकिन्छ । अत जगदिशपुर जलाशय जस्ता सिमसार आफैमा बहुआयामिक र सर्वपक्षिय सरोकारको क्षेत्र भएकोले यसको समुचित व्यवस्थाको लागि राष्ट्रिय निति तथा योजनाहरुमा यसको महत्व स्थापित गर्दै आर्थिक प्राविधीक एवं सस्थागत क्षमता अभीवृद्धि गर्नु जरुरी देखिन्छ । तब मात्र यि सिमसार क्षेत्रको दिर्घकालीन संरक्षण हुनेछ र यस्ता दिवशका नाराले सार्थकता पाउने छन ।                      
– जिव विज्ञ, नेपाल पंछी संरक्षण संघ, लाजिम्पाट काठमाडौं
EMAIL: bhusalkrish@yahoo.com 
Web: www.birdlifenepal.org