नुवाकोटको मान्द्रेढुंगामा मिनिट्रक दुर्घटनाहुदाँ एक जनाको मृत्यु

कपिलदेव खनाल
नुवाकोट । नुवाकोटको चारघरे गाँउ विकास समितिको मान्द्रेढुंगामा मिनिट्रक दुर्घटनाहुदाँ एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
खड्गभञ्याङ्गको जोगिडाँडाबाट कोदो लिएर बट्टारतर्फ आइरहेको बा.३ ख ६७५ नम्बरको मिनिट्रक बलुवाखानी नजिकै मान्द्रेढुंगामा बुधबार राति साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी चालक गोर्‍याङ गाविस वडा नम्बर ३ निग्लेनीका सुनिल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ३५ वर्षका तामाङको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा ज्यान गएको हो । गाडी धनी समेत रहनुभएका तामाङलाई उपचारको लागि अस्पतालमा पुर्‍याए लगत्तै मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
दुर्घटनामा परी घाइते हुनेमा गाडीका सहचालक गोर्‍याङ गाविस वडा नम्बर ५ गल्फुका बाबु तामाङ र दाङसिङ गाविस वडा नम्बर ४ फर्सिकोटेका राजु तामाङ रहेका छन् । 

अन्य समाचारहरु